नेपालगन्जमा आगामी कात्तिक १४ र १५ गते दोस्रो ‘नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५’आयोजना गरिने भएको छ। स्वीमिङ खेलको विकास र प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपालगन्ज स्वीमिङ क्लबले उक्त प्रतियोगिता गर्न लागेको हो।
उक्त प्रतियोगितामा देशैभरका अण्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका करिब २ सय खेलाडीबीच प्रतिस्पर्धा गराइने क्लबका अध्यक्ष केशवराज न्यौपानेले जानकारी दिए। उनका अनुसार अण्डर ८ उमेर समूहका खेलाडीहरूले २५ मिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् भने अण्डर १० उमेर समूहका खेलाडी र अन्य खेलाडीहरूले ५० मिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिता हुन थालेपछि बाँकेमा क्रमशः स्वीमिङ क्षेत्रमा खेलाडी उत्पादन हुने क्रम बढेको अध्यक्ष न्यौपानेले बताए।
त्यसैगरी अण्डर १२ र १४ उमेर समूहका खेलाडी बीच ५० र १ सय मिटर दूरीका विभिन्न इमेन्टमा प्रतिस्पर्धा हुनेछ। खुल्ला उमेर समूहमा २ सय र ४ सय मिटर दूरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभिन्न ५६ वटा इभेन्ट हुने छन्।
क्लबले प्रतियोगितामा सहभागिताका लागि आवेदन खुल्ला गरेको छ। इच्छुक खेलाडीले क्लबले उपलब्ध गराउने गुगल फर्म भरेर आवेदन दिन सक्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन आवेदन फर्म भर्दा खेलाडीहरूले १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ।
बाँके जिल्लाबाहेक अन्य जिल्लाबाट सहभागी हुन आउने खेलाडीलाई खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था आयोजक क्लबले मिलाउने क्लबका उपाध्यक्ष सुर्यमणि अधिकारीले बताए। प्रतियोगिताको उद्घाटन सत्रमा नेपाल पौडी संघका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र प्रदेश खेलकुद परिषद लुम्बिनीका पदाधिकारीहरू लगायतका अतिथीहरू सहभागी हुने छन्।
प्रतियोगितालाई लुम्बिनी प्रदेश सरकार, प्रदेश खेलकुद परिषदलगायत विभिन्न व्यापारिक प्रतिष्ठान, बैंक, अस्पतालका अतिरिक्त खेलप्रेमी, उद्यमीव्यवसायीहरूले सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएको क्लबका उपाध्यक्ष अधिकारीले बताए। प्रतियोगिता आयोजना गर्न करिब १५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।
प्रकाशित: ३० आश्विन २०८२ १५:३८ बिहीबार





