१० माघ २०८२ शनिबार
image/svg+xml
खेल

प्रधानलाई ओसिएको लाेगाे नराख्न चेतावनी

ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल ओलम्पिक कमिटी तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई आफ्नो लोगोको दुरुपयोग नगर्न चेतावनी दिएको छ।

ओसिएका डाइरेक्टर जनरल हुसेन अल मुसल्लमले आइतबार एनओसीको तदर्थ कमिटीका संयोजक प्रधानलाई पत्र लेख्दै ओसिएको लोगो प्रयोग नगर्न चेतावनी दिएका हुन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) को निवर्तमान कार्यकालका अध्यक्ष जीवनराम श्रेष्ठ, उपाध्यक्ष सुनील श्रेष्ठ र महासचिव नीलेन्द्रराज श्रेष्ठलगायत बीच विवाद सिर्जना हुँदा अहिले दुईवटा समानान्तर कमिटीका एनओसी नेपालमा छन्।

पूर्वअध्यक्ष ध्रुबहादुरको नेतृत्वमा तदर्थ र जीवरामको नेतृत्वमा अर्को ओलम्पिक कमिटी छ।  दुवैले आफूहरू नै अधिकारिक रहेको दाबी गर्दै आएका छन्।  यसैबीच ओसिएका डाइरेक्टर जनरल हुसेन अल मुसल्लमले तदर्थका संयोजकलाई पत्र लेख्दै नेपाल ओलम्पिक कमिटी (एनओसी) को लेटरहेडमा ओसिएको लोगो प्रयोग नगर्न चेतावनी दिएका छन्।

कुवेत ओलम्पिक कमिटीका महासचिव र वल्र्ड एक्वाटिक्सका अध्यक्षसमेत रहेका मुसल्लमलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको निकट मानिने गरिन्छ। मुसल्लमकै सक्रियतामा श्रेष्ठले अन्तर्राष्ट्रिय मान्यता पाएको चर्चा हुने गरेको छ।

अनलाइन मार्फत निर्वाचन गराएको, अदालतको आदेश अवेज्ञा गरेको र नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्वाचन रोक्न गरेको पत्र अवेज्ञा गरेको भन्दै जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई सरकारले मान्यता दिएको छैन। सुरुमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि श्रेष्ठको निर्वाचनलाई मान्यता दिएको थिएन। तर, तीन महिनापछि श्रेष्ठ नेतृत्वको कमिटीले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो।

असन्तुष्ट एनओसीमा आबद्ध खेल संघहरू संगठित हुँदै एनओसीको तदर्थ कमिटी बनाएपछि फेरि विवाद उत्कर्षमा पुगेको हो। अहिले ओसिएले भने तदर्थ कमिटीलाई चेतावनी दिएको छ। त्यसलाई तत्काल नरोके कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्। आइओसी र एनओसीलाई पनि उक्त पत्र बोधार्थ गरिएको छ। ‘तपाईंले आफ्ना चिठीपत्र र नेपाल ओलम्पिक कमिटीको लेटरहेडमा ओसिएको लोगोको प्रयोग गर्नु अवैधानिक रहेको आधिकारिक रूपमा जानकारी गराउन चाहन्छौं। यो आधिकारिक चेतावनी पनि हो। ओसिएको लोगो प्रयोग गर्न नछोडे आवश्यक कारबाही गर्नेछौं,’ हुसेनले लेखेका छन्।

पूर्वअध्यक्ष प्रधानको संयोजकत्वमा गत भदौ ४ गते एनओसीको ९ सदस्यीय तदर्थ समिति घोषणा गरिएको थियो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उक्त तदर्थ समितिलाई साथ दिएका छन्।

उक्त समितिले जापानमा हुने एसियाली खेलकुदमा पनि नेपाली खेलाडीको सहभागिता गराउने दाबी गर्दै आइरहेको छ। यो समितिले सातदोबाटोस्थित एनओसीको भवनमा बसेर काम पनि सुरु गरेको छ।  

प्रकाशित: १६ भाद्र २०८२ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App