खेलकुदको हबका रूपमा चिनिने गण्डकी प्रदेशलाई नेपालको राष्ट्रिय खेल भलिबलका लागि उर्वर भूमि मानिन्छ।
यो प्रदेशले नेपाली भलिबलका स्टार खेलाडी उत्पादन गर्दै नेपाली खेलकुदलाई नै ठूलो योगदान दिएको छ। तीन विभागीय टोलीमा गण्डकीका खेलाडीको बाहुल्य रहँदै आएको छ। भलिबलका प्रतिस्पर्धामा गण्डकीको सहभागिता नहुँदा आयोजना अपूरो जस्तै देखिन्छ।
गण्डकीको खेल हुँदा समर्थकको उपस्थितिले प्रतियोगितामा छुट्टै उत्साह मिल्ने गर्छ। देशका चर्चित खेलाडीको सूचीमा गण्डकी अग्र स्थानमा पर्ने गर्छ। गण्डकीका एकसे एक खेलाडी छन्, जो दर्शकमाझ निकै लोकप्रिय छन्। तीनै चर्चित नाममध्ये एक हुन् ‘हिमाल सुनारी’। पाल्पा निस्दी ४ मा जन्मेका हिमाल रेवनसिंह सुनारी र खगिसरा सुनारीका छोरा हुन्। भलिबलको कर्मथलो भने हिमालका लागि गण्डकी हो।
उनको भलिबलमा यात्रा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबाट सुरु भयो। त्यसपछि उनी गण्डकीको टोलीमा जोडिन पुगे। यही टोलीबाट उनले घरेलु प्रतिस्पर्धा खेले। पाँचौं एनभिए कपबाट राष्ट्रियस्तरको प्रतिस्पर्धा खेल्न सुरु गरेका हिमालले २०७८ सालमा दोस्रो टाइगर कप भलिबलबाट गण्डकीमा डेब्यु गरे।
नेपालमा हुने सबैजसो राष्ट्रिय स्तरका प्रतियोगितामा उनको उपस्थिति हुने गर्दछ। त्यतिबेला भलिबलका कोर्टमा समर्थकले खोज्ने खेलाडीमा उनी पर्छन्। काभा क्लब भलिबल च्याम्पियनसिप, नवौं राष्ट्रिय खेलकुद, ३४औं राष्ट्रिय भलिबल प्रतियोगिता र एनभिए लिगलगायत प्रतिस्पर्धामा समर्थकका लागि उनी आकर्षणका पात्र हुन्। गण्डकीको प्रतिनिधित्व गर्दै उनले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र हङकङसम्म पुगिसकेका छन्।
समर्थकका माझ उनी किन चर्चित छन्? उनको खेलकौशल र सालिन स्वभावले गर्दा पनि समर्थकको रोजाइमा पर्छन् उनी। हिमालको मुख्य विशेषता भनेको क्विक स्पाइक हो। खेलमा उनको जोसले दर्शकलाई बेजोड उत्साह भरिदिन्छ। खेलमा पनि उनले टोलीलाई आवश्यक परेको बेला अहम् भूमिका निभाउँछन्। अनि त उनका समर्थक क्रेज राम्रै भेटिन्छन्। प्रतिभाशाली भए पनि हिमाल अहिलेसम्म राष्ट्रिय टोलीमा किन छैनन् त? यसको कारण उनको होचो कद छ। यद्यपि हिमाललाई कुनै दुःख छैन। देशको सहरदेखि गाउँ र सुगमदेखि दुर्गमसम्म खेल्न पुग्छन्। स्थानीय प्रतियोगिता हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म आइपुग्दा हिमालले प्राप्त गरेको उपाधिको कुनै मूल्य छैन।
‘राष्ट्रिय टिमको जर्सी लगाउने चाहना छ तर केही छैन। दर्शकको माया र साथ नै मेरो लागि सबथोक हो,’ उनी भन्छन्। गण्डकी भलिबल हिमालको लागि अति प्रिय छ। यसमा नै उनी आनन्द मान्छन्। ‘गण्डकी मेरा लागि सबैथोक हो। भलिबलले मलाई धेरै दिएको छ, मैले त्यसको गुन तिर्नुपर्नेछ,’ उनी भन्छन्।
यही भलिबल खेलबाट नै उनको सामाजिक सञ्जालमा लाखौ समर्थक हिमालसँग जोडिएका छन्। हिमालको नामबाट चलेका फेसबुक पेजमा करिब लाख र युट्युबमा लाखभन्दा बढी मानिस उनका गतिविधिलाई पछ्याउँछन्। उनै हिमाल अहिले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।
विगतमा पिपल्स च्वाइसमा राष्ट्रिय महिला भलिबलका खेलाडीको वर्चस्व रहँदै आएको छ। गण्डकीका यी उदाउँदा तारा पनि अवार्डको दाबेदार हुन्। भलिबलका पुरुष खेलाडीले यो अवार्ड जित्न सकेको छैन। हिमालले अवार्ड जिते उनी पहिलो भलिबल खेलाडी हुनेछन्। उनीसँग उसुका विजय सिंजाली टेबल टेनिसकी इभाना थापामगर फुटबलकी रेखा पौडेल र क्रिकेटकी पूजा महतो प्रतिस्पर्धामा छन्। पिपल्स च्वाइस अवार्डको भोटिङमा ५० प्रतिशत मत खल्ती एपको मतदान, २५ प्रतिशत फेसबुक लाइक तथा खेल पत्रकार र खेल प्रशिक्षकको मत २५ प्रतिशत रहेको छ। अवार्ड यही भदौ २९ गते हुनेछ।
प्रकाशित: २० भाद्र २०८२ ०७:११ शुक्रबार





