दक्षिण अफ्रिकाका विश्वकप फुटबल खेलाडी जेडेन एडम्सको रहस्यमय निधन भएको छ। केप टाउनस्थित एक घरमा २५ वर्षीय एडम्सको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
दक्षिण अफ्रिकालाई पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको दुई हप्तापछि नै उनको मृत्यु भएको थियो। हालसम्म मृत्युको कारण खुलेको छैन।
केप टाउन केन्द्रीय प्रहरीले विज्ञप्ति जारी गर्दै शनिबार बिहान ११ बजे स्कोट्चे क्लोफस्थित एक घरमा शव फेला परेपछि अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ। प्रहरीले घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको भनेको छ।
एडम्सका बुबा जुआनिटो एडम्सले परिवार पोस्टमार्टमको नतिजा पर्खिरहेको र अहिलेसम्म अन्त्येष्टिको कुनै योजना नबनाएको जानकारी दिए। उनले भने, ‘तपाईंहरू सबैलाई थाहा छ, यो एक असामयिक मृत्यु थियो। परिवार यसलाई सम्हाल्न संघर्ष गरिरहेको छ। यो जारी राख्न सजिलो हुनेछैन। मानिसहरू भन्छन् कि यो सजिलो हुनेछ, तर यो हुनेछैन। तपाईंले यससँग बाँच्न सिक्नुहोस्।’
एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाको समूह चरणका तीनवटै खेल खेलेका थिए। यद्यपि, जुन २८ मा क्यानडाविरुद्धको राउन्ड अफ ३२ को खेलमा उनी मैदानमा थिएनन्। दक्षिण अफ्रिकाका खेलकुद मन्त्री गेटन म्याकेन्जीले आफ्नी हजुरआमाको निधन भएको केही घण्टाभित्रै एडम्सले चेक रिप्लिकविरुद्धको खेल खेलेको स्मरण गरेका छन्। म्याकेन्जीले अनुसन्धान चलिरहेको अवस्थामा मृत्युको कारणबारे अनुमान नगर्न र संयम अपनाउन सबैमा आग्रह गरेका छन्।
शनिबार भएको नर्वे-इंग्ल्याण्ड र स्विट्जरल्याण्ड-अर्जेन्टिनाबिचको विश्वकप क्वार्टरफाइनल खेलअघि एडम्सको सम्झनामा मौन धारण र श्रद्धाञ्जली अर्पण समेत गरिएको थियो।
प्रकाशित: ३० असार २०८३ ०९:१७ मंगलबार





