चौथो खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा प्लेअफनजिक पुग्दा जनकपुर बोल्ट्स अझै जितविहीन बनेको छ।
सुदूरपश्चिम र जनकपुर पहिलो सिजनका फाइनलिस्ट हुन्। दोस्रो सिजनमा पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै सुदूरपश्चिम प्लेअफनजिक देखिएको छ। यता, खराब ब्याटिङ सामना गरेको डिफेन्डिङ च्याम्पियन जनकपुरको तेस्रो खेलसम्म हारको शृंखला रोकिएको छैन। पुछारका दुई टोलीको भिडन्तमा जनकपुर बिहीबार पोखरा एभेन्जर्ससँग २५ रनले पराजित भएको हो। दुवै टोली पहिलो जितको खोजीमा थिए तर पोखराले सफलता पाएसँगै जनकपुर दोस्रो सिजनमा जितविहीन एउटा मात्र टोली बन्यो। दिनको पहिलो खेलमा ओपनर विनोद भण्डारी अविजित अर्धशतकीय इनिङमा सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्यो। यससँगै सुदूरपश्चिम यस सिजन अपराजित रहने एक मात्र टोली बन्यो।
कुल ८ टोली रहेको लिगमा विराटनगर किङ्सले तीन तथा चितवन राइनोज र काठमान्डु गोर्खाजले समान दुई जित निकालेका छन्। सुदूरपश्चिमसँग नतिजा सुम्पिएपछि रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले चौथो खेलमा तेस्रो हार बेहोर्यो। अहिलेसम्म तीन हार बेहोर्ने लुम्बिनी र जनकपुर हुन्। यो हारपछि दुवै टोलीमाथि दबाब बढेको छ। यद्यपि, जनकपुरका कप्तान अनिल साह अझै चार खेल बाँकी रहेकाले प्लेअफको सम्भावना देख्छन्। ‘ब्याटिङ चल्न नसक्दा फेरि हार बेहोर्यौं। अझै चार खेल बाँकी छन्। अहिले नै प्लेअफ सम्भावना सकिएको छैन,’ पहिलो संस्करण उपाधि दिलाएका कप्तान अनिलले भने, ‘शीर्ष दुईको सम्भावना नभए पनि दोस्रो र तेस्रोसम्म पुग्न सक्छौं। आगामी खेलमा राम्रो गर्दै पहिलो जित निकाल्न खोज्छौं।’
दक्षिण अफ्रिकाका अनभुवी बलर वाइने पर्नेलले जनकपुरका लागि एनपिएलमा सुखद डेब्यु गरे तर उनले बलिङ प्रभाव जमाउन सकेनन्। तल्लो क्रममा ब्याटिङमा आएका पर्नेलले धराशयी बनेको जनकपुरको ब्याटिङमा अर्धशतक बनाए तर पनि जनकपुरले एक सय ५६ रनको लक्ष्य भेटाउन सकेन। पूरै ओभरमा आठ विकेट गुमाउँदै जनकपुर एक सय ३० रन मात्र जोड्न सफल भयो। कीर्तिपुरमा पोखराले जनकपुरमाथि २५ रनको जित निकाल्यो। सुमित बर्माको अलराउन्ड प्रदर्शनमा पोखराले जित आत्मसात गरेको हो । पुछारका दुवै टोली जित निकाल्न चाहन्थे तर खराब ब्याटिङपछि जनकपुर हार सामना गर्न बाध्य भयो। सातौं नम्बरमा आएका वाइने पर्नेलले ५० रन जोडे।
अर्धशतकसँगै पर्नेल रिटायर्ड भए। इनिङको चार बल बाँकी छँदा उनी रिटायर्ड हर्ट भएका हुन्। उनले ३८ बलमा दुई चौका र चार छक्का हिर्काए। ओपनर माज सदाकले २०, मध्यक्रमका ब्याटर सञ्जय कृष्णमुर्तिले २५ र तल्लो क्रमका ललित राजवंशीले १० रन जोडे। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। ओपनर आसिफ शेख शून्यमा, शुभ कंसाकार ४ र निकोल लफ्टी इटन २ रनमा आउट भए। पावरप्लेमा नै चार विकेट गुमाएको जनकपुरले ३७ रन मात्र जोडेको थियो। कप्तान अनिल साह र मायन यादव पनि सस्तैमा आउट भए। त्यसपछि सञ्जय र पर्नेलले इनिङ समाल्ने प्रयास गरे। कप्तान कुशल भुर्तेलले सञ्जयलाई आउट गर्दै फेरि जनकपुरलाई दबाबमा राखे। पर्नेलले एक छेउबाट आक्रामक ब्याटिङ गरे पनि जिताउन सकेनन्।
पोखराका बलर विपिन खत्रीले चार ओभरमा चार विकेट लिँदा १५ रन मात्र दिए। सुमितले दुई तथा कुशल र जिमीले समान एक विकेट निकाले। सुमितकै अर्धशतकमा पोखराले पूरै ओभरमा ६ विकेट गुमाउँदै एक सय ५५ रनको योगफल बनाएको थियो। मध्यक्रमका ब्याटर सुमितले २९ बलमा ५० रन बनाएपछि पोखराले सम्मानजनक योगफल बनाएको हो।
उनले दुई चौका र चार छक्का हिर्काए। पावरप्लेमा बिनाविकेट ४५ रन जोड्दै पोखराले राम्रो सुरुआत गर्यो। ओपनरद्वय दिनेश खरेलले ३८ रन र आदम रोसिङ्टनले २४ रनको योगदान दिए। दिनेशले ३८ बलमा दुई चौका र तीन छक्का प्रहार गरे। १७ बल खेलेका एडमले तीन चौका हिर्काए। तर, नवौं र दशौं ओभरमा पोखरालाई ठूलो झड्का लाग्यो। नवौं ओभरमा पोखराले ओपनर एडमसँगै कप्तान कुशल भुर्तेललाई शून्यमै गुमाउन पुग्यो। सञ्जय कृष्णमूर्तिले दुवै विकेट लिएका हुन्।
लगत्तै अर्को ओभरमा कप्तान अनिलले अर्का ओपनर दिनेशलाई आउट गरे। खातामा थप १ रन जोड्दा जिमी निसम (१ रन) पनि पभेलियन फर्किए। यससँगै १०.२ ओभरमा पोखरा ६४/४ को अवस्थामा पुग्यो। पाँचौं विकेटका लागि सुमित र तृतराज दासबीब ७२ रनको महत्त्वपूर्ण साझेदारी बन्यो। यी दुईबीच तालमेल नमिल्दा १९औं ओभरमा तृतराज २९ रनमा रनआउट हुन पुगे। २८ बल खेलेका उनले दुई चौका हिर्काए। जनकपुरको बलिङमा सञ्जयले तीन तथा अनिल र ललित राजवंशीले एक विकेट लिए। चार ओभर बलिङ गरेका ललित ४० रन खर्चिंदै महँगा भए। पोखराका बलर विपिन खत्रीले मिडल अर्डर छिटै गए पनि राम्रो फिनिस गर्न सक्दा राम्रो योगफल जोड्न सकिएको बताएका छन्।
विनोदको ब्याटिङमा सुदूरपश्चिम अपराजित
ओपनर विनोदले अर्धशतकीय प्रेरणामा सुदूरपश्चिम चौथो जित निकाल्दै प्लेअफनजिक पुग्यो। त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले एक सय ४४ रनको मध्यम लक्ष्य दियो। सुदूरपश्चिमले १८.२ ओभरमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य भेट्टायो। दोस्रो ओभरमै ओपनर जोस ब्राउन ९ रनमै आउट भए। सुदूरपश्चिमको सुरुआत राम्रो हुन सकेन। त्यसपछि क्रिस लिन १६ रनमा आउट हुन पुगे।
पावरप्लेमा दुई विकेट पतन हुँदा सुदूरपश्चिमले ४४ रन जोड्यो तर ओपनर विनोदले तेस्रो विकेटका लागि आरिफ शेखसँग ९९ रनको साझेदारी गर्दै जितको आधार बनाए । विनोदले ६९ रनमा अविजित रहँदै जित दिलाए। आरिफ १८औं ओभरमा तिलकराज भण्डारीद्वारा आउट भए। आरिफ आउट हुँदा सुदूरपश्चिमलाई ६ रन आवश्यक थियो। उनले ३७ बलमा चार चौका र एक छक्का प्रहार गरे।
विनोदले ४९ बलमा पाँच चौका र चार छक्का हिर्काए। सात बलर प्रयोग गरेको लुम्बिनीले लक्ष्य रक्षा गर्न सकेन। रुबेन ट्रम्पलमेन, अभिशेष गौतम र तिलकले समान एक विकेट लिँदा अन्य बलर विकेटविहीन रहे। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी १९.४ ओभरमा एक सय ४३ रनमा अलआउट भयो। एक समय लुम्बिनी राम्रो योगफलतर्फ अग्रसर देखिन्थ्यो। अन्तिम पाँच ओभरमा २८ रन जोड्दा सात विकेट नै गुमायो र सामान्य योगफलमै सीमित भयो। कप्तान रोहित पौडेलले ३६ बलमा ३५ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रह्यो। विकेटकिपर दिलीप नाथले ३१ रन जोडे । यी दुईले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे।
त्यसपछि राम्रो साझेदारी बन्न नसक्दा लुम्बिनी सामान्य रनमा समेटियो । लुम्बिनीले ओपनर डार्सी सटलाई १८ रनमा गुमायो। अर्का ओपनर सुमित श्रेष्ठ पनि १८ रनमै आउट भए। पावरप्लेमा एक विकेट गुमाएको लुम्बिनीले ५० रन जोड्दै राम्रो सुरुआत गर्यो। त्यसपछि सुदूरपश्चिमले किफायती बलिङ गर्यो।
लुम्बिनीले १३.४ ओभरमा एक सय रन बटुल्यो । रोहित र दिलीपले तेस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै सय रनको आँकडा पार गराएका हुन्। १५औं ओभरमा हेमन्त धामीले रोहितलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए। अफगानी ब्याटर गुल्बदिन नइबले ११ रन जोडे। सुदूरपश्चिमको बलिङमा अविनाश र हरमितले समान तीन तथा हेमन्तले दुई र स्कट कुग्गेलिनले समान एक विकेट लिए।
एनपिएलमा राम्रो गरेर राष्ट्रिय टिमको क्याम्प पर्न सकिँदैन: विनोद
सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले पहिलो सिजन राम्रो प्रदर्शन गर्दा राष्ट्रिय टिमको क्याम्पमा नपरेको बताएका छन्।
विनोदले एनपिएलमा राम्रो गर्दा राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ भन्ने बारे विश्वस्त नरहेको संकेत गरेका छन्। गत सिजन आफूले राम्रो गर्दा पनि क्याम्पमा पनि नपरेको उनको भनाइ छ। त्यसैले एनपिएल विश्वकपको सेलेक्सन म्याच हो भन्न नसकिने विनोदले उल्लेख गरेका छन्। उनले एनपिएल आइसिसी टी ट्वान्टी विश्वकपको छनोट म्याच हो भन्न नसकिने बताएका हुन्। उनले ५० ओभर र टी ट्वान्टी फरम्याट दुवैमा छनोट उस्तै भएकाले राम्रो प्रदर्शन गरेर राष्ट्रिय टिममा पर्छु भन्ने नलागेको भन्दै कटाक्ष गरेका छन्। यदि उनले एनपिएल र पिएम कप छनोट प्रतियोगिता हो भनेर भन्न नसकिने बताएका छन्। किनकि पिएम कपमा टप फाइभ प्रदर्शन गर्ने खेलाडी नै राष्ट्रिय टोलीमा नपरेको उनको भनाइ छ।
चारमा चार जितेकाले टोलीको माहोल पनि राम्रो रहेको उनको भनाइ छ। सबै खेलाडीको माइन्ड सेटमा सकारात्मक बनिरहेको पनि उनी बताउँछन्। मैदान प्रवेश गरेपछि सबै राम्रो प्रदर्शन गर्न नै जाने हो। टिममा राम्रो पावर हिटर भएकाले आफूलाई पनि बिना दबाब खेल्न सहज भएको उल्लेख गरे। अहिले नै फाइनल जित्ने भन्ने सोचेका छैनौं र हरेक खेलमा कसरी राम्रो खेल्ने भन्नेमा ध्यान दिएको उनी बताउँछन्। अहिले नै फाइनलका बारे सोचेर खेल्ने हो भने दबाब आउन सक्ने उनको बुझाइ छ। जतिसक्दो धैर्य भएर खेल्नुपर्ने उनी बताउँछन्।
प्रकाशित: १२ मंसिर २०८२ ०६:४४ शुक्रबार





