२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई

तस्बिर: अमर खड्का/नागरिक

प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले २६ औं संस्करणको अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार धरान रंगशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।

उपाधिसँगै प्लानिङ ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको चर्च ब्वाइजले ५ लाख रुपैयाँमा चित्त बुझाउनुपर्‍यो।

चर्च ब्वाइज अघिल्लो संस्करणमा पनि उपविजेतामै सीमित भएको थियो।

प्लानिङ ब्वाइजको जितमा प्रतापसिंह राई नायक बने। खेलको दोस्रो हाफको १८ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक सावित भयो।

उत्कृष्ट प्रदर्शन गरेका प्रताप खेलको ‘म्यान अफ दि म्याच’ सँगै प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। उनले पुरस्कारस्वरूप डियो स्कुटर प्राप्त गरेका छन्।

घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको चर्च ब्वाइजले खेल अवधिभर गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। प्लानिङ ब्वाइजले सेमिफाइनलमा लालीगुराँस फुटबल क्लब पोखरालाई २-१ ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो।

उता, चर्च ब्वाइजले दोस्रो सेमिफाइनलमा झापा ११ लाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको थियो।

गत माघ २२ गतेदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता एनआरटी, सातदोबाटो युथ क्लब, नेपाल पुलिस क्लब, पोखराको लालीगुराँस एसोसिएसन, झापा ११, प्लानिङ ब्वाइज काठमाडौं, भारतको जर्जियन क्लब, भुटानको रोयल थिम्पु र आयोजक धरान फुटबल क्लब गरी कुल १० टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २ फाल्गुन २०८२ १९:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App