विश्वकप फुटबलको नकआउट चरणमा चार पटकको विश्व विजेता जर्मनीलाई स्तब्ध पार्दै पराग्वेले ऐतिहासिक सफलता हात पार्यो।
पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै राउण्ड अफ १६मा प्रवेश गरेपछि पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले मंगलबार सार्वजनिक बिदाको घोषणा गरे।
राष्ट्रपति पेन्याले बिदाको घोषणा गर्दै ट्वीट गरे,‘ पराग्वेले कहिल्यै हार मान्दैन, सार्वजनिक बिदा।’
मंगलबार पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गरेको हो। पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरे। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको थियो।
सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई–दुई पेनाल्टी बचाउँदा ३–३ को बराबरी भएको थियो। त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो। त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे।
त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए।
पराग्वेले अब शनिबार राउन्ड अफ १६ को खेलमा फ्रान्स वा स्विडेनमध्ये एक टोलीको सामना गर्नेछ।
प्रकाशित: १६ असार २०८३ १३:१४ मंगलबार





