आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा पाकिस्तानले संयुक्त राज्य अमेरिका (यूएसए) सामु जितका लागि १९१ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
श्रीलंकाको कोलोम्बोस्थित एसएससी मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार पारेको हो।
पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक रन बनाए। उनले आक्रामक ब्याटिङ गर्दै ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ७३ रनको शानदार इनिङ्स खेले। उनलाई अनुभवी ब्याटर बाबर आजमले राम्रो साथ दिए। बाबरले ३२ बलमा ४६ रन बनाए।
त्यस्तै, तल्लो क्रममा आएका शादाब खानले विष्फोटक ब्याटिङ गर्दै मात्र १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे, जसले पाकिस्तानलाई उच्च स्कोरतर्फ डोर्यायो। अर्का ओपनर सैम अयुबले १९ रनको योगदान दिए।
सुरुवातमा पाकिस्तान हाबी देखिए पनि अन्तिम ओभरहरूमा अमेरिकी बलरहरूले उत्कृष्ट पुनरागमन गरे। अमेरिकाका लागि श्याड्ली भान स्कल्कविकले घातक बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए।
सौरभ नेत्रवाल्कर, मोहम्मद मोहसिन र हरमीत सिंहले १-१ विकेट हात पारे। पाकिस्तानले अन्तिम ओभरहरूमा लगातार विकेट गुमाउँदा २०० रनको आँकडा पार गर्न भने सकेन।
अब १९१ रनको विजय लक्ष्य पछ्याउँदै अमेरिकाले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।
प्रकाशित: २७ माघ २०८२ २१:०२ मंगलबार





