१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड: मत दिने अवसर अझै बाँकी

अबको एक साता नेपाली खेलकुद पोखरामा केन्द्रित हुनेछ, किनभने २२औं संस्करणको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड उतै हुँदै छ।

सबैभन्दा बढी खेलकुद गतिविधि हुने सहरमा पर्छ, पोखरा। यही सुन्दर सहरमा पुस २३ को दिन अवार्ड कार्यक्रम हुनेछ। यसपल्ट त्यसको अघिल्लो दिन पुस २२ मा स्पोटर््स समिटको पनि आयोजना हुनेछ। जेनजीको आन्दोलनका कारण भदौ २९ मा हुनुपर्ने यो कार्यक्रम पछाडि सरेको हो।

आयोजक नेपाल खेलकुद पक्रकार मञ्चले कार्यक्रमलाई लिएर आफ्नो सबै तयारी पूरा भएको पनि जनाइसकेको छ। यस्तोमा प्रश्न हुन सक्छ, बाँकी के छ त? कार्यक्रमकै प्रमुख आकर्षण रहेको पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा परेकालाई मत दिने अवसर भने अझै बाँकी छ।

जेनजी आन्दोलनका बेला रोकिएको मत दिने प्रक्रिया यसै सातादेखि फेरि सुरु भइसकेको छ। डिजिटल वालेट खल्तीबाट भोटिङ गर्ने प्रक्रिया अहिले खुला छ र यो अवार्डको अघिल्लो रातसम्म जारी रहनेछ। नेपाली खेलका प्रेमी कसैले पनि पिपल्स च्वाइस अवार्डमा यसपल्ट को को प्रत्याशी रहेका छन्, त्यो बिर्सेका छैनन्। धेरैले मत पनि दिएका छन्।

यसपल्टको यो लोकप्रिय खेलाडीको विधामा प्रतिस्पर्धी रहेका छन्, उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबल टेनिसकी इभाना थापा। अब सक्दो मत दिने पालो, आफ्नो प्रिय खेलाडीलाई।

जेन जी आन्दोलनपछि नेपाली खेलकुद ठ्याक्कै सुस्त रहेन। सायद अझ बढी सक्रिय रह्यो। धेरै अर्थमा नेपाली खेलकुद चलायमान नै रह्यो। त्यसकै आधारमा भन्ने हो भने पिपल्स च्वाइस अवार्डमा मनोनयनमा परेका खेलाडी कति धेरै सान्दर्भिक थिए, त्यो अहिले प्रस्ट हुन्छ। त्यसमा पनि तीनै महिला खेलाडी।

सबैभन्दा रेखाकै कुरा। उनी केही दिन अगाडिसम्म माल्दिभ्समा थिइन् र त्यहाँ माजियाबाट व्यावसायिक फुटबल खेलिरहेकी थिइन्। यसै क्रममा उनको क्लबले माल्दिभ्सको महिला लिगको उपाधि पनि जित्न सफल रह्यो। त्यस सफल अभियानकी एक महत्त्वपूर्ण र प्रभावशाली छाप छाडेकी खेलाडी रहिन्, रेखा।

अर्कोतर्फ नेपाली महिला क्रिकेटमा पूजाको उपस्थिति अझ दरिलो बनेको छ। सुरुका दिनमा उनी कसरी नेपाली क्रिकेटसँग जोडिएकी थिइन्, त्यसबारे चर्चा थियो। अहिले त्यो चर्चा उनको उम्दा प्रदर्शनमा केन्द्रित छ। ब्याट र बल दुवैबाट समान गतिलो योगदन दिन सक्ने पूजाले भर्खरै नेपालको प्रतिनिधित्व गदै मलेसियाविरुद्ध पाँच ट्वान्टी ट्वान्टी सिरिज खेलिन्।

अब उनको ध्यान पूर्णतः आइसिसी वुमेन्स ट्वान्टी ट्वान्टी छनोटमा छ। इभानाले त झन् भर्खरै अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले प्रदान गर्ने छात्रावृत्ति जितेकी छिन्। अबको दुई वर्ष उनी असाध्यै धेरै व्यस्त हुनेछिन्, प्रशिक्षण र प्रतिस्प्र्धाका क्रममा।

विजय र हिमाल पनि खेलको मैदानबाट टाढा रहेनन्। विजय न्युजिल्यान्डमा खेल्न पुगेका छन्। हिमाल त झन गण्डकीकै हुन्। उनकै सहरमा अवार्ड कार्यक्रम हुँदै छ। आईएमई खल्तीमार्फत गरिने मतको भार ५० प्रतिशत हुनेछ।

यस्तै फेसबुक भोटिङको २५ प्रतिशत, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटिङ १२.५ र आयोजक मञ्चका सदस्यको भोटिङको १२.५ मतभार हुनेछ। मूल प्रश्न हो, के तपाई कुनै न कुनै माध्यमबाट मत दिन छुटिरहनु भएको त छैन? छुट्नुभएको छैन भने पनि दोहर्‍याएर मतदात गर्न त सकिन्छ नै।  

प्रकाशित: १८ पुस २०८२ ०८:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App