नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुआत गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न ‘डे–नाइट’ खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६ विकेटको शानदार जित दर्ता गरेको हो।
प्रतियोगितामा आफ्नो पहिलो खेल खेलिरहेको लुम्बिनीले चितवनमाथि जित निकाल्दै सुखद आरम्भ गरेको छ भने जारी प्रतियोगितामा चितवनको यो पहिलो हार हो।
यसअघि आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै चितवनले प्रतियोगितामा विजयी सुरुआत गरेको थियो, तर दोस्रो खेलमा भने लुम्बिनी तगारो बन्न पुग्यो।
चितवनविरुद्ध लुम्बिनीको पुरानै लय
लुम्बिनी लायन्सले यस संस्करणमा पनि चितवन राइनोजविरुद्धको आफ्नो इतिहासलाई कायमै राखेको छ।
संयोग कस्तो पर्यो भने, गत संस्करणको एनपिएलमा लुम्बिनी लायन्सले प्रतियोगिताभर केवल एउटा मात्र खेल जितेको थियो र त्यो जित चितवनविरुद्ध नै थियो।
यसपटक पनि आफ्नो पहिलो खेलमा चितवनलाई नै पराजित गर्दै लुम्बिनीले चितवनमाथि आफ्नो मनोवैज्ञानिक दबाब र बलियो उपस्थितिलाई प्रमाणित गरेको छ।
अघिल्लो सिजनको निराशाजनक नतिजालाई बिर्साउँदै यसपटक लुम्बिनीले उपाधि दाबेदारको छवि बनाउने संकेत देखाएको छ।
सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रनको मध्यम योगफल तयार पारेको थियो।
चितवनले इनिङ्सको सुरुआतमै ठूलो झट्का व्यहोर्नुपर्यो। पहिलो ओभरको दोस्रो बलमै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यानले चितवनका स्टार ब्याटर डेभिड मलानलाई बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए।
मलान ‘डक आउट’ भएपछि दबाबमा आएको चितवनका अन्य ओपनर र शीर्ष क्रमका ब्याटरहरू पनि लामो समय क्रिजमा टिक्न सकेनन्।
दीपक बोहरा १० रन र देव खनाल १४ रनमा समेटिएपछि चितवनले ४३ रन जोड्दा ३ महत्त्वपूर्ण विकेट गुमाइसकेको थियो।
सङ्कटमा परेको चितवनको इनिङ्सलाई रवि बोपाराले सम्हाले। अनुभवी खेलाडी बोपाराले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीको स्कोर उकास्न मद्दत गरे।
उनले ५५ बलको सामना गर्दै ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ६६ रनको अर्धशतकीय पारी खेले। उनको यही योगदानका कारण चितवनले लुम्बिनीसामु १४३ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गर्न सक्यो।
रोहितको कप्तानी पारी, लुम्बिनीको सहज जित
फ्लडलाइटको उज्यालोमा १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै संयमित ब्याटिङ गर्यो। लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो।
टोलीको जितमा कप्तान तथा मार्की खेलाडी रोहित कुमार पौडेलले अहम् भूमिका निर्वाह गरे।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले एक छेउबाट इनिङ्सलाई सम्हाल्दै टोलीलाई जितको नजिक पुर्याए।
आफ्नो पारीमा दुई पटक जीवनदान पाएका रोहितले त्यसको भरपुर फाइदा उठाउँदै ४४ बलमा ३९ रन बनाए।
उनी क्रिजमा आउँदा लुम्बिनीको स्कोर बलियो स्थितिमा लैजान सङ्घर्षरत थियो भने उनी आउट हुँदा टोली जितको सँघारमा पुगिसकेको थियो। उनको धैर्यता र टिकेर खेल्ने रणनीतिले नै लुम्बिनीलाई पहिलो खेलमा जित दिलाउन मद्दत गर्यो।
के भन्छन् कप्तान रोहित ?
पहिलो खेलमा महत्त्वपूर्ण जित हासिल गरेपछि लुम्बिनीका कप्तान रोहित पौडेल निकै खुसी देखिए।
खेलपछिको प्रतिक्रियामा उनले भने, ‘हामीले पहिलो खेल जित्यौँ, कुनै पनि प्रतियोगितामा पहिलो खेल निकै महत्त्वपूर्ण हुन्छ। आजको जित हाम्रो लागि टर्निङ पोइन्ट हुन सक्छ। समग्रमा खेल राम्रो भयो, नतिजा आफ्नो पक्षमा पार्न सक्दा हामी निकै खुसी छौँ।’
गत वर्षको एनपिएलमा पनि कप्तान रोहितकै अलराउन्ड प्रदर्शनले लुम्बिनीले चितवनलाई हराएको थियो।
सोही इतिहास स्मरण गर्दै उनले भने, ‘हाम्रो लागि पहिलो सिजन राम्रो भएको थिएन। तर, यसपटक हामीले सुरुको खेलबाटै विजयी सुरुआत गरेका छौँ। हामीले विगत २–३ महिनादेखि एनपिएलको तयारी गरिरहेका थियौँ। अघिल्लो वर्षका गल्तीहरू नदोहोर्याउने लक्ष्यमा थियौँ, आज सोही अनुसार प्रदर्शन भयो।’
रोहितले फ्लडलाइटमा लक्ष्य पछ्याउन सहज भएको बताउँदै सबै खेलाडीले आ–आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेको बताए।
उनले एनपिएलले नेपाली खेलाडीहरूलाई विदेशी खेलाडीहरूसँग खेल्ने र सिक्ने अवसर दिएको भन्दै यसले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा समेत व्यक्त गरे।
‘हामीले विदेशी खेलाडीहरूसँग खेल्ने मौका पाएका छौँ, धेरै जना खेलाडीहरूसँग राम्रो अनुभव पनि छ,’ उनले थपे।
प्रकाशित: ४ मंसिर २०८२ २२:२९ बिहीबार





