न्यु एरा एकेडेमी र न्युटनले आठौं ओप्स खेलकुद महोत्सवमा आइतबार उपाधि जितेका छन्।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित खेलकुद महोत्सवको अन्तिम दिन न्यु एरा सिनियर ब्वाइज फुटसल र न्युटन ब्वाइज भलिबलमा च्याम्पियन भएका हुन्।
शेषमतीस्थित सेक्रेड हार्ट स्कुलमा भएको ब्वाइज फुटसल फाइनलमा न्यु एराले न्युटनलाई ३–१ गोलले पराजित गर्यो। न्यु एराका पेम्बा तामाङले २ तथा आयुश बरामले १ गोल गरे। न्युटनका युगेन लामाले सान्त्वना गोल फर्काए।
सेक्रेड हार्ट र सेब तेस्रो भए। १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। यसअघि १२ टिम सहभागी गल्र्स फुटबलको उपाधि हिमरश्मिले जितेको थियो।
खेलकुद महोत्वस अन्तर्गत ब्वाइज भलिबलको बेस्ट अफ फाइभ फाइनलमा न्युटनले हिमरश्मिलाई २५–१७, २३–२५, १९–२५, २५–१२ र १५–६ को सेटमा ले हरायो।
सेक्रेड हार्टले सेबलाई २५–१३ र २५–२३ ले पाखा लगाउदै तेस्रो भयो। भलिबलमा ८ टिम सहभागी थिए। खेलकुद महोत्वसअन्तर्गत एथलेटिक्स र ब्याडमिन्टनको पनि प्रतिस्पर्धा भएको थियो। एथलेटिक्समा कौशल तथा ब्याडमिन्टनमा हिमरश्मि च्याम्पियन बनेका थिए।
विजेतालाई प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष सानुराजा कार्की र सदस्य विष्णुचन्द्र अधिकारी, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, सचिव शिवप्रसाद अर्याल र सहसचिव रविन बस्नेत, न्युटनका प्रिन्सिपल राम केसी, सेक्रेड हार्टका प्रिन्सिपल बद्रीनाथ भट्ट, ओप्सका इसिए विभाग प्रमुख राजेश रायमाझी, तारकेश्वर नगर खेलकुद विकास समितिका उपाध्यक्ष फिरोज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रकाशित: २८ पुस २०८२ ०९:५५ सोमबार





