निर्वाचनले राजनीतिक रुपमा दलहरुबीच प्रतिश्पर्धा बढाइरहँदा स्याङ्जामा भने केही फरक तरिकाको प्रतिश्पर्धा छ । जहाँ निर्वाचनमा होमिएका उम्मेदवारहरु नै यसअघि एउटै संस्थाको व्यवस्थापन हाँकेका अनुभवि व्यक्ति हुन् । त्यसबाहेक सिंगो मुलुकको पर्यटन क्षेत्रको व्यवस्थापन हाँकेका व्यक्ति पनि त्यही क्षेत्रमा चुनावी प्रतिश्पर्धामा छन् ।
स्याङजा–१ को चुनावी माहोल अहिले अन्यत्र भन्दा भिन्न छ । किनकी त्यहाँ प्रतिश्पर्धामा उत्रिएका कांग्रेसका उम्मेद्वार भरतराज ढकाल र एमालेका मीनप्रसाद गुरुङ कुनैबेला एउटै संस्थामा रहेर संस्थालाई अब्बल बनाउन अहोरात्र खटिएका व्यक्ति थिए । मुक्तिनाथ विकास बैंकको अध्यक्ष भएर काम गरेका दुवैजना उम्मेदवार अहिले एकअर्कासँग चुनावी प्रतिश्पर्धामा छन । ढकाल त अध्यक्ष हुनुअघि प्रमुख कार्यकारी अधिकृत भएर समेत मुक्तिनाथमा काम गरेका थिए ।
हिजोसम्म एउटै संस्थालाई अब्बल बनाउन सहकार्य गरेका उनीहरु अहिले बैचारिक र सैद्धान्तिक रुपमा फरक दलबाट उम्मेदवार बनेर एकअर्कासँग एउटै निर्वाचन क्षेत्रमा प्रतिश्पर्धा गरिरहेका छन् । ढकाल र गुरुङसँगको प्रतिश्पर्धामा अर्का व्यवस्थापकको अनुभवि रास्वपाबाट धनञ्जय रेग्मी पनि त्यही निर्वाचन क्षेत्रबाट निर्वाचनमा होमिएका छन । तिनैजना अब्बल व्यवस्थापक एकै निर्वाचन क्षेत्रबाट होमिँदा स्याङजाको निर्वाचनको रौनक फरक छ । उनीहरुसँगको प्रतिश्पर्धामा नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे पनि चुनावी दौडमा छन् ।
ढकाल २०६३ देखि २०७५ सम्म बैंकको प्रमुख कार्यकारी थिए । त्यसपछि २०७६ देखि २०८१ सम्मको अध्यक्ष समेत बनेका थिए । त्यसबाहेक मुक्तिनाथ कृषि कम्पनिको संस्थापक अध्यक्ष समेत बनेका उनी उम्मेदवार बन्दै गर्दा कम्पनिको सिइओ बनेका थिए । गुरुङ भने २०७० देखि २०७४ सम्म बैंककै अध्यक्ष बनेका थिए ।
‘हो, हिजो हामीले कुनैबेला एउटै संस्थालाई अब्बल बनाउनुपर्छ भनेर लागेका थियौ । त्यही मेहनतले बैंकको उचाई पनि बढेको हो । तर, राजनीतिक र बैचारिक रुपमा हिजो पनि फरक थियौ, अहिले पनि फरक रह्यौ,’ ढकालले भने, ‘दुवैजनालाई एकअर्काको राजनीतिक आस्था फरक रहेको पहिल्यै थाहा हुँदाहुँदै पनि हिजोका दिनमा एउटा संस्थालाई अब्बल बनाउने जिम्मा लिएर सहकार्य गरेका थियौ ।’
एउटै संस्थालाई कुनैबेला अब्बल बनाउन लागिपरेका दुवैजनालाई अहिले एउटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनेर एकअर्कासँग प्रतिश्पर्धामा उत्रिनु पर्ला भन्ने त अनुमानै थिएन, तर, बिचार र सिद्धान्त फरक रहेको जानकार दुवैलाई थियो । ‘निर्वाचनको सुरुवाती दिनमा त अप्ठेरो पनि लाग्यो । तर, अहिले सहज बनेको छ । म मेरो एजेन्डामा छु, उहाँ (मीनप्रसाद) आफ्नो एजेन्डामा हुनुहुन्छ,’ ढकालले भने, ‘कृषिमा परिवर्तन ल्याउनुपर्छ भन्ने मैले बुझेको छु । किनकी मैले वित्तीय क्षेत्रमा हाम फाल्दै गर्दा कृषिबाट सुरुवात गरेको हुँ ।’ जागिरकै अनुभवले कृषिमा नीतिगत तहमा परिवर्तन ल्याउनुपर्छ र त्यसका लागि राजनीतिक रुपमा रुपान्तरण गर्न जरुरी रहेको आफुले बुझेको उनले बताए ।
ढकालका प्रतिश्पर्धी गुरुङ पनि हिजोका दिनमा एउटै वित्तीय संस्थालाई अब्बल बनाउन अहोरात्र लागेपनि अहिलेको बिचारको प्रतिश्पर्धामा लागेको बताउँछन । ‘हिजो एउटा संस्था बनाउन दुवैजना लागेका थियौ । सबैको मेहनत र व्यवस्थापनले सहज पनि भएको हो । अहिले निर्वाचनमार्फत दुवैजनाले जित्ने सम्भव त हुँदैन । तरपनि अप्ठेरोका बाबजुत पनि प्रतिश्पर्धामा छौ’ उनले भने । निर्वाचनमा सुरुवाती चरणमा एकअर्काका विरुद्ध खटिँदा अप्ठेरो लागेको उनले पनि बताए । ‘म त अझ बैंकमा रहँदा पनि राजनीतिमा सक्रिय थिए । अहिले स्वच्छ प्रतिश्पर्धामा छौ । हामीमा सहकार्य हिजो पनि थियो, भोलिका दिनमा पनि कतै न कतै सहकार्य हुनेछ,’ उनले भने ।
ढकाल र गुरुङसँगको प्रतिश्पर्धामा अर्का उम्मेदवार छन रास्वपाका रेग्मी । रेग्मी यसअघि नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए । नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्धर्न गर्ने जिम्मा पाएको बोर्डका कार्यकारी बनिसकेका रेग्मी अहिले चुनावी दौडमा छन । ‘व्यवस्थापनको अनुभव भन्ने त हो । तर, चुनावमा होमिएको व्यक्तिले एउटा क्षेत्रमा हिजोका दिनमा काम गरेजस्तो हुँदैन । संसदमा समस्या उठान गर्न सक्ने व्यक्ति नै अहिले खाँचो छ,’ रेग्मीले भने, ‘हिजो मैले पर्यटन क्षेत्रमा राम्रो गरेको हुँ । तर, अब त त्यो भन्द फरक शैलीमा काम गर्नुपर्छ ।’
जिल्लाबासिका धेरै समस्या रहेको र ती मध्ये केही व्यक्तिगत तथा कतिपय समस्या संसदमा उठान गर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘नीति नै परिवर्तन गर्ने हैसियत राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘जनताको आकांक्षा धेरै छैनन । भएका समस्यालाई नै फरक तरिकाले हेरेर काम गर्नुपर्छ । त्यही भएर एउटा क्षेत्र हेरेजस्तो नहुने रहेछ ।’
जिल्लाका एकजना विश्लेषकका अनुसार राजनीतिक रुपमा मीनप्रसाद गुरुङ अनुभवि उम्मेदवार हुन । उनी २०७४ मा स्याङजा १ (ख) बाट विजयी भएर प्रदेशसभामा पुगेका थिए । जातीय भोट पाएमा उनलाई निर्वाचनमा सहज रहेको ती विश्लेषकको भनाई छ । उनका अनुसार कांग्रेसका उम्मेद्वार ढकाल राजनीतिमा कम पहिचान भएका व्यक्ति हुन । तर, आर्थिक क्षेत्रको गतिविधिमा उनी जिल्लामै अब्बल हुन । तल्लो तहमा राजनीतिक रुपमा कम परिचित भएपनि ढकालले तल्लो वर्गका नागरिकसँग आर्थिक हिसाबले काम गरेकोमा भिन्दै पहिचान बनाएका छन ।
वित्तीय संस्थामा तल्लो वर्गलाई समेटेर काम गरेको हिसाबले ढकालप्रति सदासयता हुनसक्ने उनको विश्लेषण छ । तर, रास्वपाका रेग्मीलाई भने पछिल्लो वहावले प्रभाव पारेमा रेग्मीले पर्याप्त मत पाउन सक्ने अनुमान उनको छ । ‘देशैभरको माहोलको प्रभावमा पर्न सके रेग्मीलाई सहज हुनसक्छ । तर, उनी पनि तल्लो तहमा खासै परिचित भएर राजनीति गरेका व्यक्ति होईनन,’ उनले भने । यसअघिको निर्वाचनमा स्याङजा–१ बाट कांग्रेसका राजु थापाले जित हासिल गरेका थिए । त्यो बेला एमालेले दोश्रो र रास्वपाले तेश्रो स्थानमा मत पाएका थिए । यो पटक एमालेका गुरुङ मात्र दोहोरिएका उम्मेदवार हुन ।
स्याङजा–२ मा एमालेका खीमबहादुर थापा उम्मेदवार बनेका छन । उनी कालीगण्डकी गाउँपालिकामा दोहो¥याएर अध्यक्ष बनेका व्यक्ति हुन । यो क्षेत्रमा कांग्रेसले भागवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको छ । मल्ल पनि २०७४ मा स्याङजा २(ख)मा विजयी भएका थिए । यो क्षेत्रमा रास्वपाका झविलाल डुम्रे र नेकपाका पदमबहादुर विक उम्मेदवार छन । अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका धनराज गुरुङ विजयी हुँदा एमाले दोश्रो र रास्वपा तेश्रो दल बनेका थिए ।
‘पहिला देखि कांग्रेसको अब्बल क्षेत्रको रुपमा स्याङजा– २ परिचित छ । कांग्रेसको बलियो क्षेत्र वालिङ नगरपालिका पनि हो,’ ती विश्लेषकले भने, ‘तर, योपटक भन्न सकिने अवस्था छैन । कालिगण्डकीका अध्यक्ष समेत रहेर काम गरेका थापाले पनि जातीय भोट पाएमा मल्ललाई भार पर्नेछ ।’ अघिल्लो निर्वाचनमा जिल्लामा तेश्रो स्थानमा रास्वपा रहेको र अहिले सबैतिर माहोल बनाएको अवस्थामा मत तानेको खण्डमा पुराना दललाई पनि सहज नभएको उनले बताए ।
प्रकाशित: ४ फाल्गुन २०८२ १९:४० सोमबार





