२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

आहा ! रारा गोल्डकप: सिक्किमलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा मनाङ मर्स्याङ्दी क्लबले आफ्नो स्थान सुरक्षित गरेको छ।

सोमबार पोखरा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले पाहुना टोली थन्डरबोल्ट नर्थ युनाइटेड क्लब (सिक्किम) लाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा मनाङका आशिष श्रेष्ठले गरेको हेडर गोल नै खेलको निर्णायक बन्यो। मनाङले पाएको कर्नरको सदुपयोग गर्दै आशिषले आकर्षक गोल गरेका थिए। उनी सोमबारको खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए।

खेलको ९७ औं मिनेटमा थन्डरबोल्टका सुराग क्षेत्रीले पेनाल्टी एरिया बाहिरबाट गरेको कडा प्रहार बारमा लागेर गोल लाइनभित्र खसेको देखिए पनि रेफ्री उमेश बिडारीले त्यसलाई गोलको मान्यता दिएनन्।

थन्डरबोल्टका खेलाडीले केही बेर गोलको जिकिर गरे पनि रेफ्रीको निर्णय नै अन्तिम बन्यो। सो प्रहार गोल भएको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो। सिक्किमे टोलीका लागि यो निर्णय नै प्रतियोगिताबाट बाहिरिने मुख्य कारण बन्न पुग्यो।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा थन्डरबोल्टका प्रशिक्षक आशिष क्षेत्रीले गोलको मान्यता नपाउनु दुर्भाग्यपूर्ण भएको बताए। उनले भने, ‘त्यो गोलले मान्यता पाएको भए खेलको ‘टर्निङ पोइन्ट’ हुन्थ्यो। तर रेफ्रीको निर्णय नै अन्तिम हुने भएकाले हामीलाई कुनै गुनासो छैन।’

सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेल मंगलबार हुनेछ। सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोलीको टुंगो लगाउनका लागि प्लानिङ ब्वाइज युनाइटेड र आभा एफसी (उज्वेकिस्तान) बिच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

यस वर्षको गोल्डकप विजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: ४ फाल्गुन २०८२ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App