भारतबाट भन्सार छली तस्करी गरेर ल्याइएको ठूलो परिमाणको चस्मा विराटनगरमा प्रहरीले बरामद गरेको छ।
भारतको जोगबनी नाका हुँदै अवैध रूपमा भित्र्याइएको चस्मा मोरङ प्रहरीले आइतबार विराटनगर-९ स्थित घोघापुल चोकबाट नियन्त्रणमा लिएको हो।
मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार १४ वटा पोकामा प्याक गरेर राखिएको अवस्थामा ५ हजार ४ सय १० थान चस्मा बरामद गरिएको हो।
बरामद गरिएको उक्त चस्माको बजार मूल्य ५ लाख ४१ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीलाई देखेपछि ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए। बेवारिसे अवस्थामा फेला परेको उक्त सामान तस्करी गरेर बजार पुर्याउने उद्देश्यले ल्याइएको प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले तस्करीमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बरामद गरिएको चस्मालाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ।
प्रकाशित: ४ फाल्गुन २०८२ १९:५३ सोमबार





