मलेसियामा सम्पन्न आठौं जेविन मलेसिया ओपन तेक्वान्दोमा पदक विजेता नेपाली खेलाडीलाई सम्मानित भएका छन्।
काठमाडौंको डाँछीमा शनिबार एक कार्यक्रमका बीच नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी र अफिसियललाई सम्मान गरेको हो। एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले उनीहरूलाई सम्मान गरेका हुन्।
स्वर्ण विजेता केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा तथा रजत विजेता सन्दीप बस्नेत सम्मानित भए। सोही अवसरमा प्रशिक्षक श्रीकृष्ण खड्का, व्यवस्थापक गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरिएको थियो।
नेपाली खेलाडी तथा अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले बताए। खड्काले पनि मलेसियामा सम्पन्न उक्त प्रतियोगितामा निर्णायकको भूमिका निर्बाह गरेका थिए। उनी सो प्रतियोगिताको उत्कृष्ट निर्णायक पनि हुन्।
प्रकाशित: २ कार्तिक २०८२ ०७:०८ आइतबार





