२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

नेपालले जित्यो मलेसियाविरुद्धको शृंखला

नेपाली महिला क्रिकेट टोलीले आइसिसी टी ट्वान्टी वरीयतामा आफूभन्दा छैटौं स्थान तल रहेको मलेसियासँगको टी शृंखला आफ्नो बनाएको छ।

नेपालले क्वालालम्पुरमा भएको बुधबार पाँचौं तथा निर्णायक खेलमा घरेलु टोली मलेसियामाथि पाँच विकेटको जित निकाल्यो। यससँगै नेपाली टोलीले आफूभन्दा ६ स्थान तलको मलेसियासँगको पाँच खेलको शृृंखला ३–२ ले आफ्नो बनाएको हो।

अन्तिम खेलअगाडि दुवै टोली शृंखलामा २–२ को अवस्थामा थिए। त्यसैले दुवै टोली अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा थिए तर अलराउन्डर राजमती ऐरी र कविता जोशीको उत्कृष्ट बलिङ प्रेरित नेपाली टोलीले जित निकाल्यो। तुलनात्मक रूपमा आफूभन्दा कमजोर मानिएको मलेसियासँग नेपाल शृंखलामा पछि पर्‍यो। यद्यपि, शृंखला गुम्न भने दिएन। नेपालले दोस्रो र चौथो खेल ६ विकेटले जितेको थियो।

मलेसियाले भने पहिलो खेल ३ र तेस्रो खेल १३ रनले आफ्नो बनाएको हो। पाँचौं खेलमा भने नेपाली बलरले राम्रो बलिङ गरे। यो नेपालको कमजोर ब्याटिङका लागि सहज पनि बन्यो। मलेसियाले एक सय ४ रनको लक्ष्य दिएको थियो। नेपाली बलर राजमतीले शीर्ष क्रमका ब्याटरलाई आउट गर्दै महत्त्वपूर्ण प्रदर्शन गरिन् तर नेपालले दुई ओभर बाँकी छँदा नै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टायो। शीर्ष क्रमका ब्याटरले पनि साथ दिए। ओपनर रुबी पोदारले २५ बलमा २६ रन बनाइन्। त्यसमा दुई चौका रह्यो। उपकप्तान पूजा महतोले पनि २३ बलमा २४ रन जोड्दै उनलाई साथ दिइन्। त्यसअघि ओपनर सम्झना खड्काले १३ रन जोड्दा कविता कुँवरले १४ रनको योगदान गरिन्।

पूर्वकप्तान रुबिना क्षेत्रीले १५ बलमा अविजित १५ रन जोड्दै नेपाललाई जिततर्फ डोर्‍याइन्। मलेसियाले बलिङमा ६ बलर प्रयोग गरेको थियो। त्यसमध्ये पाँच बलर विकेट लिन सफल भए। आइना हामिजा, नुर दानिया, आइसा इलिसा, माहिरा इजाती र नुर एल्याले समान एक विकेट लिए तर नेपाली ब्याटरले १२ बल बाँकी छँदा नै जित निकाल्दै शृंखला आफ्नो बनाउन सफल भए। त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले सात विकेटको क्षतिमा एक सय ३ रनको योगफल बनाएको थियो। राजमती र कविता जोशीले कसिलो बलिङ गर्दै समान तीन विकेट लिएपछि घरेलु टोलीले ठूलो योगफल बनाउन सकेन।

मलेसियाकी कप्तान तथा ओपनर विनफ्रेड दुरैसिंगमको ४० रन जोडिन्। यो नै घरेलु टोलीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। उनले ४६ बलमा पाँच चौका हिर्काइन्। राजमतीले नै १५औं ओभरमा उनलाई कविता जोशीबाट क्याच गराएकी हुन्। त्यसअघि राजमतीले नुर इजातुललाई १० रनमा साथै मास इलिसालाई डकआउट गरेकी थिइन्।

युवा बलर रचना चौधरीले नेपाललाई ‘ब्रेक थ्रु’ दिलाएकी हुन्। उनले लयमा रहेकी ओपनर आइना हामिजालाई १५ रनमा आउट गरिन् । यस शृंखलामा आइना सर्वाधिक (१५२ रन) रनकर्ता हुन्। माहिरा इजातीले १८ बलमा १९ रन जोडिन्।

उनी कविता कुँवरको बलिङमा छैटौं विकेटका रूपमा आउट भएकी थिइन्। त्यसपछि नुर दानियाले ११ रन जोड्दै घरेलु टोलीको योगफल दोहोरो अंकमा पार गराइन्। नेपालको जितमा राजमती प्लेअर अफ दी म्याच भइन्। उनले तीन ओभरमा ३/१५ को बलिङ प्रदर्शन गरिन्। चार ओभर बलिङ गरेकी कविता जोशी पनि प्रभावकारी भइन्। उनले पनि ३/१६ को प्रदर्शन गरिन्। नेपालले सात बलर प्रयोग गरेको थियो। तर, तीन बलर मात्र विकेट लिन सफल भए। नेपालले आगामी जनवरीमा आइसिसी महिला टी ट्वान्टी क्वालिफायरको आयोजना घरेलु भूमिमा गर्दै छ।

१० राष्ट्रले प्रतिस्पर्धा गर्ने क्वालिफायरबाट चार टोलीले सन् २०२६ को जुनमा इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा आयोजना हुने महिला टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन्। यसै क्वालिफायरका लागि नेपालले तयारी गरिरहेको छ तर आफूभन्दा कमजोर मानिएको टोलीसँग नेपालको प्रदर्शन सुखद हुन सकेको छैन।  

प्रकाशित: २३ आश्विन २०८२ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App