उत्कृष्ट बलिङ प्रेरणामा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा संयुक्त अरब इमिरेट्स (युएई) माथि जित आत्मसात गरेको छ।
घरेलु भूमिमा कीर्तिपुरमा शनिबारदेखि सुरु त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले पाहुना टोली युएईमाथि ३७ रनको रोमाञ्चक जित निकालेको हो। लगातार चौथो हारपछि नेपाली टोली जित आत्मसात् गर्न सफल भयो। नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै उत्कृष्ट बलिङ पनि महत्त्वपूर्ण रह्यो। कमजोर लक्ष्य दिए पनि बलिङमा राम्रो साथ पाउँदा नेपाल जित निकाल्न सफल भयो । नेपालका उपकप्तान दीपेन्द्रले अलराउन्ड प्रदर्शन गरे। उनले ७५ रनको इनिङसँगै एक विकेट पनि लिए । उनी म्यान अफ दी म्याच पनि भए। आठ राष्ट्र सम्मिलित लिग–२ (२०२३/०२७) को साइकलमा नेपालले पुछारको टोली युएईलाई हराएको हो।
विश्वकप छनोट यात्रामा दाबेदारी कायम राख्न नेपाल बाँकी खेल जित्नैपर्ने दबाब छ। यो जितले नेपाललाई राहत मिलेको छ। यो जितका बाबजुद नेपाल सातौं स्थानमा यथावत् छ । कुल २१ खेलबाट ६ जितसँगै नेपालले १४ अंक जोड्यो। जुन २१ खेलबाट पुछारमा रहेको युएईभन्दा चार अंकले मात्र बढी हो। पुछारमा रहेको युएईको यो १६ औं हार हो। युएईले १० अंक बनाएको छ। नेपाल र युएईसँगै ओमान यस शृंखलामा छन्। सोमबार युएई र ओमानबीच खेल हुनेछ । त्रिवि क्रिकेट मैदानमा कमजोर ब्याटिङ गरेको नेपालले २०१ रनको सामान्य लक्ष्य दिएको थियो। जबाफमा युएई ४८.२ ओभरमा १६३ रनमा नै अलआउट हुन पुग्यो। बलरको उत्कृष्ट प्रदर्शनसँगै नेपाल जित निकाल्न सफल भयो।
मध्यम गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गरे। ९.२ ओभरमा करणले चार विकेट लिँदै १९ रन मात्र खर्चिए । सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो। २.६ ओभरमा दुई विकेट पतनपछि युएईको सुरुआत राम्रो हुन सकेन। ओपनर अदिव उस्मानी १ रन र मुहम्मद साहदाब २ रनमै पभेलियन फर्किए। अर्का ओपनर आर्यान्स शर्मा १८ रनमा आउट भए। ९.५ ओभरमा युएई ३९/३ को नाजुक अवस्थामा पुग्यो। यसपछि दबाबमा परेको युएईले खुलेर ब्याटिङ गर्न नै सकेन।
हर्मित सिंहले ३९ र कप्तान मोहम्मद वासिमले ३४ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत रन रह्यो। अक्षदीप नाथले ३० रन जोड्दा निलान्स केस्वानीले समान १८ रनको योगदान गरे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुखद प्रदर्शन गर्न सकेन। दीपेन्द्रको अर्धशतक बाबजुद नेपाल ४८.२ ओभरमा दुई सय रनमा अलआउट भयो। शीर्ष पाँच ब्याटर सस्तैमा आउट भएपछि नेपाल संकटमा प¥यो । २०.३ ओभरमा ९० रन जोड्दा नै घरेलु टोलीका पाँच ब्याटर आउट भए । तर, मध्य क्रमका ब्याटर दीपेन्द्रले ७५ रनको अर्धशतकीय योगदान दिँदै इनिङ समाले। ९० बलमा दीपेन्द्रले पाँच चौका र दुई छक्का प्रहार गरे। जुनेद सिद्दिकीको बलिङमा उनी दशौं विकेटका रूपमा आउट भए।
दीपेन्द्रले पाँचौं विकेटका लागि बसिर अहमदसँग ४१ रन र आठौं विकेटका लागि करण केसीसँग ४२ रनको साझेदारी गरे। यी साझेदारीले नै नेपाललाई दुई सय रनको आँकडा पार गर्न मद्दत मिल्यो। बसिर २० रनमा र करण २२ रनमा आउट भए। ३७ बल खेलेका करणको इनिङमा समान एक चौका र छक्का रह्यो। बसिरले ४० बलमा तीन चौका प्रहार गरे। त्यसअघि दोस्रो ओभरमै ओपनर आसिफ शेख ७ रनमै आउट भए र नेपालको सुरुआत खराब रह्यो। त्यो विकेटसँगै घरेलु टोली समालिन नै सकेन र एकपछि अर्को विकेट गुमायो। भीम सार्की १०, ओपनर कुशल भुर्तेल २४ र कप्तान रोहितकुमार पौडेल २ रनमा नै पभेलियन फर्किए। ११औं ओभरमा नेपाल ४९/४ को स्थितिमा पुग्यो।
अजय कुमारले ११औं ओभरको अन्तिम बलमा कप्तान रोहितलाई आउट गरे। यसपछि दीपेन्द्र क्रिजमा आए। अनुशासित ब्याटिङ गर्दै दीपेन्द्रले नेपाललाई सम्मानजनक योगफलतर्फ अग्रसर गराए। युएईको बलिङमा अजय कुमारले ९ ओभरमा एक मेडनसहित तीन विकेट लिँदा ३४ रन मात्र दिए। जुनेदले ९.२ ओभरमा तीन मेडनसहित ३३ रन खर्चेर तीन विकेट नै लिए। तनभिरको नाममा दुई विकेट रह्यो।
ओमानलाई सहज लिनु हुँदैन: रोहित
युएईसँगको खेलपछि पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहितले ओमानलाई सहज रूपमा लिएर खेल्न नहुने उल्लेख गरेका छन्। ओमन राम्रो टिम भएकाले उनीहरूलाई हलुका रूपमा लिन नहुने उनले बताएका हुन्। साथै रोहितले कमजोर लक्ष्य भए पनि जित निकाल्छौं भन्ने विश्वास व्यक्त गरेका छन्। युएईविरुद्धको खेलमा टोलीले देखाएको राम्रो क्यारेक्टर र आत्मविश्वास नै जितको मुख्य आधार रहेको उनको भनाइ छ। पहिलो इनिङमा ब्याटिङ अपेक्षाअनुसार नभएको रोहितले स्वीकार गरे। बलरहरूको प्रदर्शनबारे चर्चा गर्दै उनले सोमपाल कामीको स्पेललाई टर्निङ प्वाइन्ट मानेका छन्।
वसिम र अक्षदीप नाथको बलियो साझेदारी तोड्न सोमपालले लिएको दुई विकेट नै खेलको निर्णायक मोड भएको उनको ठहर छ। रोहितले सबैले राम्रो गरिरहेको र सिनियर खेलाडीको अनुभवलाई बिर्सनु नहुने बताएका छन्। पछिल्लो २/३ वर्षमा उनीहरूले टोलीका लागि धेरै योगदान दिएको उनको भनाइ छ। युएईका कप्तान वासिमले हारको मुख्य कारण खराब ब्याटिङ प्रदर्शन रहेको धारणा राखे । दुई सय १ रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उनले स्वीकारे। खेलमा आफू र अक्षदीप नाथ राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट गुमाउनुले खेलको नतिजा बदलेको उनको भनाइ छ।
उनले नेपालको बलिङसँगै फिल्डिङको पनि प्रशंसा गरेका छन्। युएई र नेपाल दुवै लिग–२ को तालिकामा समान अवस्थामा रहेकाले यसपछिका खेलहरू दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उनी बताउँछन्। हारबाट निरास भए पनि टोली सकारात्मक पक्षहरूलाई अघि बढाउँदै आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन गर्ने उनको भनाइ छ।
प्रकाशित: १३ वैशाख २०८३ ०६:३६ आइतबार





