१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

काभामा नेपाल पाँचौं

नेपालले माल्दिभ्सलाई हराउँदै बंगलादेशमा भएको सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा पाँचौं स्थान प्राप्त गरेको छ।

बंगलादेशको राजधानी ढाकास्थित सहिद सुह्रवर्दी इन्डोर रंगशाला मंगलबार पाँचौं स्थानको लागि भएको खेलमा नेपालले माल्दिभ्समाथि ३–१ को सेटमा जित निकाल्यो। यससँगै ६ राष्ट्र सहभागी काभा कपमा नेपालले पाँचौं स्थानमा रहेर बंगलादेशको यात्रा टुङ्गायो। यस काभा कपमा नेपालले दोस्रोपल्ट माल्दिभ्समाथि जित निकालेको हो।

पाँचौं स्थानको प्लेअफमा भने माल्दिभ्सले चुनौती दियो तर, नेपाली टोली जित निकाल्न सफल भयो। पहिलो दुई सेट नेपालले २९–२७ र २५–२० ले आफ्नो पक्षमा पार्‍यो तर तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्यो। यद्यपि, यो सेटमा नेपालले ३५–३७ ले गुमायो। चौथो सेटमा भने नेपालले लय समात्यो। सुरुदेखि नै नेपाली टोली हाबी भयो।

अन्तत् यो सेट नेपालले २५–१९ ले आफ्नो बनायो र खेलमा जित निकाल्यो। यससँगै नेपालले यस प्रतियोगितामा माल्दिभ्सलाई दोस्रो पटक हराउन सफल भयो। लिगचरणमा भने नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। तर, पाँचौं स्थानको खेलमा माल्दिभ्सले कडा चुनौती दिए पनि सफलता पाउन सकेन।

लिग चरणमा नेपालले तुर्कमिनिस्तान, अफगानिस्तान र श्रीलंकासँग समान ३–० को सोझो सेटमा हार बेहोरेको थियो तर घरेलु टोली बंगलादेशलाई चुनौती दिए पनि नेपालले ३–२ को सेटमा हार बेहोर्‍यो। मंगलबारै नै भएको उपाधि भिडन्तमा तुर्किमिनिस्तानले फाइनलमा अफगानिस्तानमाथि ३–२ को रोमाञ्चक सेटमा हरायो।

पहिलो सेट अफगानिस्तानले २५–२० ले आफ्नो बनाउँदै अग्रता बनायो। तर, दोस्रो सेटमा तुर्कमिनिस्तान २५–२१ ले आफ्नो पक्षमा राख्दै खेलमा फर्कियो। तेस्रो सेटमा अफगानिस्तानले २५–१८ ले आफ्नो पक्षमा पार्दै फेरि अग्रता लियो। तर, चौथो सेट तुर्कमिनिस्तानले २५–२० ले आफ्नो बनाएपछि खेल पाँचौं सेटतर्फ धकेलियो।

पाँचौं सेट पनि निकै रोमाञ्चक बन्यो। यद्यपि, तुर्कमिनिस्तानले १५–१२ ले निर्णायक सेटमा बाजी मार्दै उपाधि आफ्नो बनायो। तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले मंगलबार आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हरायो। श्रीलंकाले २५–२०, २५–२३ र २५–२० ले सहजै हराउँदै कांस्य पदक प्राप्त गरेको हो।  

प्रकाशित: १२ कार्तिक २०८२ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App