३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

नेपाल यू–१९ महिला एसिया कपमा छनोट

नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपको क्वार्टरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। यस जितसँगै नेपाल आगामी यू–१९ महिला एसिया कपका लागि पनि छनोट भएको छ।

जितका लागि ८७ रनको लक्ष्य पछ्याएको नेपालले ११.२ ओभरमै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

ओपनर सावित्री धामीले अविजित ४१ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने कप्तान सोनी पाख्रिनले अविजित १८ रन जोड्दै टोलीलाई सहज जित दिलाइन्। अर्की ओपनर साना प्रवीणले १८ रनको योगदान दिइन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको जापान नेपाली बलरहरू सामु टिक्न सकेन। निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८६ रनमा सीमित भयो। जापानका लागि कप्तान बियान्का सिनोले अविजित ३८ रन बनाइन् भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि क्रिस्मा गुरुङ र रिया शर्माले समान २–२ विकेट लिएर जापानी ब्याटिङलाई दबाबमा राखे। किफायती बलिङ र उत्कृष्ट फिल्डिङका कारण नेपालले जापानलाई सानो योगफलमा रोक्न सफल भएको थियो।

समूह चरणका तीनै खेल जित्दै समूह विजेता बनेको नेपालले क्वार्टरफाइनलमा पनि प्रभावशाली प्रदर्शन दोहोर्यायो। अब नेपालले सेमिफाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा इन्डोनेसिया र थाइल्यान्ड आमनेसामने हुनेछन्।

सेमिफाइनलमा स्थान बनाएका नेपाल, यूएई, इन्डोनेसिया र थाइल्यान्डले आगामी यू–१९ महिला एसिया कप मा आफ्नो स्थान सुनिश्चित गरेका छन्।

प्रकाशित: ३१ असार २०८३ १४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App