ताप्लेजुङका उत्तरी हिमाली बस्ती घुन्सा, फले, ग्याब्ला, सेकाथुम र सोक्लिमामा ट्राभल डेन्टल क्याम्प सम्पन्न भएको छ। शिविरमार्फत दुर्गम क्षेत्रका स्थानीयलाई दन्त स्वास्थ्यसम्बन्धी विभिन्न उपचार सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो।
डाक्टर शशांक ताम्राकारको नेतृत्वमा दन्त चिकित्सक तथा प्राविधिकको टोलीले दाँतसम्बन्धी ओपीडी सेवा, दाँत निकाल्ने, दाँत सफा गर्ने (स्केलिङ) र दाँत भर्ने सेवा प्रदान गरेको शिविर व्यवस्थापक तथा जन्नु गेष्ट हाउस घुन्साका सञ्चालक तेञ्जिङनुपु शेर्पाले जानकारी दिए।
शिविरमा उपचार सेवासँगै मुख तथा दाँतको स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको थियो। दाँतको संरक्षण र नियमित सरसफाइको महत्वबारे सचेतना फैलाउने उद्देश्यले सेवाग्राहीलाई टूथब्रस र टूथपेस्टसमेत वितरण गरिएको शेर्पाले बताए।
उनका अनुसार सेकाथुममा ३१ जना, ग्याब्लामा ११ जना र घुन्सामा ५५ जनाले शिविरबाट सेवा लिएका छन्।
घुन्सामा मात्र ३७ जनाले दाँत निकाल्ने, ३१ जनाले स्केलिङ गर्ने र ८ जनाले दाँत भर्ने सेवा प्राप्त गरेका छन्।
डाक्टर शशांक ताम्राकारको नेतृत्वमा रहेको टोलीमा दन्त चिकित्सक डाक्टर अविनास यादव र पल्स प्यारामेडिक डाक्टर धर्मराज कटुवाल सहभागी थिए।
दुर्गम हिमाली बस्तीमा विशेषज्ञ दन्त सेवा पुग्न कठिन भइरहेका बेला सञ्चालन गरिएको ट्राभल डेन्टल क्याम्पले स्थानीय बासिन्दालाई प्रत्यक्ष रूपमा उपचार सेवा उपलब्ध गराउनुका साथै दन्त स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
प्रकाशित: ३१ असार २०८३ १५:४० बुधबार





