१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

‘युएनकोप्स’ सम्मेलनमा सहभागी भई स्वदेश फर्किए प्रहरी महानिरीक्षक कार्की

संयुक्त राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा सम्पन्न पाँचौं प्रहरी प्रमुखहरूको सम्मेलनमा नेपालको तर्फबाट नेतृत्व गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की बुधबार स्वदेश फर्किएका छन्।

असार २३ र २४ गते आयोजित उक्त उच्चस्तरीय सम्मेलनमा भाग लिन उनी अमेरिका गएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी महानिरीक्षक कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू र केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे।

सम्मेलनका क्रममा प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले संयुक्त राष्ट्रसंघ तथा विभिन्न मित्रराष्ट्रका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरेका थिए।

भेटघाटका क्रममा शान्ति स्थापना र सुरक्षा सहकार्यका विविध पक्षमा फलदायी छलफल भएको बताइएको छ।

यस वर्षको सम्मेलनमा संयुक्त राष्ट्रसंघीय प्रहरीको भविष्यको मार्गचित्र, नयाँ प्रविधिको उपयोग, अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरण, भाषा तालिममार्फत शान्ति स्थापना कार्यको सबलीकरण तथा लैङ्गिक उत्तरदायी प्रहरी परिचालनको उच्चस्तरीय संयन्त्र निर्माण जस्ता महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल भएको थियो।

सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल गत असार २१ गते न्यूयोर्क प्रस्थान गरेका थिए।

प्रकाशित: ३१ असार २०८३ १५:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App