महिला क्रिकेट टोलीले एसियाली खेलकुद महिला क्रिकेट छनोटमा सुखद् सुरुवात गरेको छ।
मलेसियामा जारी छनोट प्रतियोगितामा चीनलाई १९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो। समूह बीमा रहेको चीनको भने यो पहिलो हार हो। उसले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई हराएको थियो। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बिहीबार इन्डोनेसियासँग खेल्नेछ। सोही खेलले सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्नेछ।
बायोमास ओभलमा नेपालले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन मात्र बनाउन सक्यो ।
चीनका लागि झु मिङगिउले सर्वाधिक ३० र वाङ हुइङले २१ रन बनाइन्।
चीनलाई कम योगफलमा समेट्न रिया शर्माले २ तथा कविता कुँवर, पूजा महतो र मनिषा उपाध्यायले समान एक विकेट झारे।
त्यसअघि उपकप्तान पूजा महतोले उल्लेख्य ब्याटिङको मद्दतमा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको छ। पूजाले ५७ बलमा ६ चौकाको मद्दतमा ६३ रन बनाइन्।
रुबि पोदारले नटआउट २२ र सोनी पाख्रिनले १८ रन बनाए।
चीनकी मा रुकीले २ विकेट लिइन् ।
जारी छनोटमा चीनले मंगलबार इन्डोनेसियालाई ३ विकेटले हराएको थियो।
६ टोलीको सहभागितामा आइतबारसम्म चल्ने प्रतियोगिताका शीर्ष ३ टोलीले यसै वर्ष जापानमा हुने २० एसियाली खेलकुदमा भाग लिनेछन्।
प्रकाशित: १३ जेष्ठ २०८३ १६:२७ बुधबार





-600x400.jpg)