१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सुनसरी–सिरहापछि मधेसमा शान्ति पहल

गृहमन्त्री गुरुङ र मुख्यमन्त्री यादवबीच सुरक्षा, सद्भाव र समन्वयबारे छलफल

सुनसरीको कप्तानगञ्ज र सिरहाको गोलबजारमा भएका हिंसात्मक घटनापछि पीडित परिवारसँग छुट्टाछुट्टै सहमति गरेका गृहमन्त्री सुधन गुरुङले शनिबार मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा अवस्थाबारे प्रदेश सरकारसँग उच्चस्तरीय छलफल गरेका छन्।

सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि बिहीबार राति पीडित परिवारसँग सहमति गरेका गृहमन्त्री गुरुङ त्यसलगत्तै सिरहा पुगेका थिए। सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवका परिवारसँग सातबुँदे सहमति गरेपछि उनी जनकपुरधाम पुगेका हुन्। त्यहाँ उनले हिन्दुवादी संगठनका प्रतिनिधिहरूसँग पनि छुट्टै वार्ता गरेका थिए।

यसैक्रममा शनिबार गृहमन्त्री गुरुङले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।

भेटमा पछिल्ला दिनमा मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको साम्प्रदायिक तनाव, हिंसात्मक गतिविधि तथा त्यसले शान्ति–सुरक्षामा पारेको प्रभावबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ।

छलफलका क्रममा प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न संघीय र प्रदेश सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

दुवै पक्षले कानुनी शासनको प्रभावकारी कार्यान्वयन, सामाजिक तथा साम्प्रदायिक सद्भावको संरक्षण र कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित सबै पक्ष जिम्मेवार, संयमित र संवेदनशील हुनुपर्नेमा साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

मुख्यमन्त्री यादवसँगको छलफलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, अर्थमन्त्री युवराज भट्टराई, प्रदेशका सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

सुनसरी र सिरहाका घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा उत्पन्न तनावलाई शान्तिपूर्ण ढंगले व्यवस्थापन गर्न संघीय सरकारले सक्रिय पहल गरिरहेको छ। प्रदेश सरकारसँगको समन्वयलाई पनि प्राथमिकतामा राखिएको छ। गृहमन्त्री गुरुङको जनकपुर भ्रमणलाई मधेसमा बिग्रँदो सुरक्षा अवस्थालाई नियन्त्रणमा लिने, सामाजिक सद्भाव कायम गर्ने तथा नागरिकमा विश्वास पुनःस्थापित गर्ने राजनीतिक र प्रशासनिक प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित: १६ श्रावण २०८३ २०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App