‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्राध्यापक जगतप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार स्वर्गीय प्रेमप्रकाशको सम्झनामा परिवारका सदस्यको सहयोगमा भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले उक्त पुरस्कार कोष केहीवर्षअघि स्थापना गरेको थियो ।
स्वर्गीय प्रेमप्रकाशको ९१ औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ साहित्यकार उपाध्यायलाई ५१ हजार १ सय ११ नगद र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।
१९९३ साउन ११ गते जन्मेका बहुप्रतिभाका धनी प्रेम प्रकाशको २०७२ वैशाख ११ गते निधन भएको थियो । मल्लका ‘पोखरा त साँच्चिकै पोखरा नै रैछ’, ‘वनकी म चरी’ लगायत थुप्रै गीत तथा साहित्यिक कृतिहरू चर्चामा रहेका छन् । कार्यक्रममा प्रमुख अतिथी सुवालले स्वर्गिय प्रेमप्रकाशले राष्ट्रका लागि धेरै योगदान गरेको बताए ।
सोही कार्यक्रममा स्वर्गिय प्रेमप्रकाशका रचनावली कृति पनि विमोचन गरियो । भेरी साहित्य समाजले कृति प्रकाशनमा ल्याएको हो । कार्यक्रममा सम्मानित ब्यक्तित्व प्राध्यापक उपाध्याय, वरिष्ठ साहित्यकार किरण आचार्य, बर्दिया बहुमुखी क्याम्पसका पुर्वप्रमुख टुकनाथ भुषाल, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वसदस्य हरि तिमिल्सिना, स्वर्गीय प्रेम प्रकाशकी छोरी वाणीश्री मल्ल, साहित्यकार प्रभात सुवेदी लगायतले प्रेमप्रकाशको योगदानबारे मन्तब्य र रचनामार्फत चर्चा गरेका थिए, भने साहित्यकार हरि सुवेदीले स्वर्गिय प्रेमप्रकाशका रचनावली कृतिमाथी समिक्षा गरेका थिए ।
प्रेमप्रकाशका छोरी वाणीश्रीले नेपाली साहित्यिक क्षेत्रमा आफ्ना पिताले गरेको योगदानलाई जीवन्त बनाइराख्न पुरस्कार कोष स्थापना गरेकी थिइन् । बुवाको योगदानलाई स्मरण गराउन आफूहरूले पनि सक्दो प्रयास गरेको बताइन् ।
प्रकाशित: १६ श्रावण २०८३ २०:०५ शनिबार





