१९ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रोड पिक हिमपहिरो : निर्मल पुर्जासहित १० जनाको निधन, खोजी कार्यबारे गिलगित प्रहरीले के भन्यो ?

उत्तरी पाकिस्तानको काराकोरम पर्वत शृंखलामा अवस्थित ब्रोड पिक हिमालमा गएको शक्तिशाली हिमपहिरोमा परेर विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लगायत अन्य आरोहीहरूको निधन भएको छ। 

उनको आरोहण कम्पनी एलिट एक्सपेड र ‘निम्स दाइ फाउन्डेसन’ ले शनिबार यो दुःखद घटनाको आधिकारिक पुष्टि गरेका छन्।

बिहीबार गएको हिमपहिरोमा परेर ४३ वर्षीय पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अभियान टोली सम्पर्कविहीन बनेको थियो। कम्पनीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुःख र अपार हृदयविदारकताका साथ हामी पुष्टि गर्छौं कि ब्रोड पिकमा हिमपहिरोपछि निर्मल पुर्जाले दुःखद रूपमा आफ्नो ज्यान गुमाए।’ यसैगरी अभियानका अन्य सदस्यहरू पनि नरहेको कम्पनीले जनाएको छ।

गिलगित-बाल्टिस्तान सरकारका अनुसार बिहीबार करिब छ हजार छ सय मिटरको उचाइमा खसेको शक्तिशाली हिमपहिरोमा १० जना पर्वतारोही परेका थिए। हिमपहिरोले उनीहरूलाई छ हजार मिटरभन्दा माथिबाट करिब आठ सय मिटर तलसम्म बगाएको थियो। सो दुर्घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्वबेलायती गोर्खा निर्मल पुर्जासहित जम्मा छ जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीहरूमा पुरबहादुर गुरुङ (गोरखा), निमा शेर्पा (संखुवासभा), किलीपेम्बा शेर्पा (दोलखा), ग्यालु शेर्पा (ओखलढुंगा) र नवाङ थिन्डु शेर्पा (संखुवासभा) रहेका छन्।

त्यसैगरी, दुर्घटनामा ज्यान गुमाउने विदेशी आरोहीहरूमा सोहेल शाखी (पाकिस्तान), वाङ झोङ (चीन), नादिरा अहमद (ओमान) र म्यालोरी गेइस (अमेरिका) रहेका छन्। औपचारिक पहिचानका लागि हेलिकप्टरमार्फत अस्पताल लगिएका अवशेषहरूमा एक अमेरिकी महिला, एक ओमानी महिला र एक नेपाली पुरुष समावेश छन्।

यसबिच, गिलगित-बाल्टिस्तान प्रहरी प्रवक्ताले  आज ब्रोड पिकमा गरिएको उद्धार र खोज कार्यको क्रममा कुनै नयाँ शब फेला नपरेको जानकारी दिएका छन्। सामाजिक सञ्जालमा जारी बयानमा उनले उद्धार अधिकारीहरूले आजको लागि खोज र उद्धार कार्य स्थगित गरेको जानकारी दिएका छन्। प्रहरीका अनुसार आज कुनै पनि बेपत्ता व्यक्ति वा शव फेला परेन। भोलिदेखि अभियान पुनः सुरु हुनेछ, जसको क्रममा हराइरहेका व्यक्तिहरूको खोजी जारी रहनेछ। 

प्रहरी अधिकारीहरूले बताए अनुसार स्थानीय उच्च-उचाइका पर्वतारोही र उद्धारकर्ताहरूसँगको समन्वयमा पाकिस्तानी सेनाद्वारा अति नै चुनौतीपूर्ण भूभाग र प्रतिकूल मौसमी अवस्थाका बिच उद्धार कार्य सञ्चालन गरिएको थियो। पुर्जाका व्यावसायिक सहकर्मी तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु (डेभिड) शेर्पा पनि उद्धार तथा समन्वयका लागि घटनालगत्तै पाकिस्तान प्रस्थान गरेका छन्।

बेलायतको गोर्खा ब्रिगेड र रोयल मरीनमा सेवा गरिसकेका पुर्जाले पूर्ण-समय पर्वतारोही बनेपछि थुप्रै ऐतिहासिक रेकर्डहरू बनाएका थिए। उनले सन् २०१९ मा छ महिना र छ दिनको छोटो अवधिमै विश्वका आठ हजार मिटरभन्दा माथि रहेका सबै १४ वटा हिमाल सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। नेटफ्लिक्सको वृत्तचित्र ‘१४ शिखरः नथिङ इज इम्पोसिबल’ मार्फत उनी अन्तर्राष्ट्रिय स्तरमा थप लोकप्रिय बनेका थिए। हालै उनले अक्सिजन बिना नै दुई पटक सबै १४ ‘सुपर पिक्स’ चढ्ने पहिलो व्यक्ति बन्ने क्रममा रहेको बताएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहले पुर्जा लगायत अन्य पर्वतारोहीहरूको असामयिक निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘सबै मृतक पर्वतारोहीहरूको भौतिक यात्रा अवरुद्ध भएको छ, तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैं प्रेरणादायी रहनेछ।’

प्रकाशित: १६ श्रावण २०८३ २०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App