२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स सोझो सेटमा पराजित

नेपालले लगातार दोस्रो जित निकाल्दै घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो । समूह  ‘ए’ मा रहेको नेपालको तेस्रो खेलमा यो दोस्रो जित हो ।

भारतसँग ३-२ को सेटमा प्रतिस्पर्धात्मक हारबाट नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सुरुवात गरेको थियो । चार टोली सम्मिलित समूह ‘ए’ को बाँकी दुई खेलको नतिजा आफ्नो बनाउँदै नेपाल सेमिफाइनलमा पुग्न सफल भयो । 

समूह विजेताको टुङ्गो भने सोमबार हुने लिग चरणको अन्तिम खेलले तय हुनेछ। यस समूहको अन्तिम खेलमा भारत र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । भारतलाई सोझो सेटमा हराएमा किर्गिस्तान यस समूहबाट सेमिफाइनलमा पुग्नेछ । सेमिफाइनलमा पुग्न भारतलाई भने ३-२ को सेटको नतिजा पनि पर्याप्त हुनेछ।

तीन खेलबाट नेपाल सात अंकसहित शीर्ष स्थानमा छ। समूहमा दोस्रो स्थानको भारतको पाँच, किर्गिस्तानको तीन अंक छ । माल्दिभ्स अंकविहिन रहँदै समूह चरणबाट बाहिरिएको छ।

यसअघि आज नै भएको खेलमा इरानले श्रीलंकालाई २५-१६, २५-१३ र २५-११ ले हरायो ।  

नेपालले अब शुक्रबार इरान वा काजखस्तानमध्ये एक टोलीसँग सेमिफाइनल खेल्नेछ ।

प्रकाशित: १० जेष्ठ २०८३ १९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App