फिफा विश्वकप २०२६ को अन्तिम ३२ को रोमाञ्चक नकआउट खेलमा साबिक विजेता अर्जेन्टिना र डेब्युट्यान्ट टोली केप भर्डेबिच अमेरिकाको मियामी रंगशालामा कडा प्रतिस्पर्धा भइरहेको छ।
खेलको प्रारम्भिक चरणदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसीले २८औँ मिनेटमा पहिलो गोल गरे। उनले केप भर्डेका गोलकिपर भोजिन्हालाई छक्काउँदै देब्रे खुट्टाले उत्कृष्ट फिनिसिङ गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए। यो गोलसँगै मेसीले आफ्नो खेल जीवनमा २०औँ विश्वकप गोलको ऐतिहासिक कीर्तिमान समेत थपेका छन्।
साबिक विजेताको दबाबका बिच खेलको दोस्रो हाफमा केप भर्डेले खेलमा अप्रत्याशित रूपमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ५९औँ मिनेटमा डेरोय डुआर्टेले अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजलाई स्तब्ध पार्दै दायाँ खुट्टाको सटिक प्रहारमार्फत बललाई जाली चुमाए।
डुआर्टेको यो उत्कृष्ट गोलसँगै खेल १-१ को रोमाञ्चक बराबरीको अवस्थामा पुगेको छ। साबिक विजेता अर्जेन्टिना दबाबमा परेको छ। निर्धारित ९० मिनेट र थप गरिएको ८ मिनेटको समय सकिएर खेल अब अतिरिक्त समयमा प्रवेश गरेको छ।
प्रकाशित: २० असार २०८३ ०५:४४ शनिबार





