विश्वकपको फाइनलमा पराजय भोगेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले समर्थकहरूलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन समय लाग्ने बताएका छन्।
सोमबार अमेरिकाको न्यु जर्सीस्थित इस्ट रदरफोर्डमा भएको फाइनलमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने अवसर गुमायो। खेल सकिएपछि मेस्सी मैदानमै भावुक बनेका थिए।
मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै फाइनल हारको पीडा गहिरो रहेको उल्लेख गरे। ‘पीडा अथाह छ र यो घाउ निको हुन समय लाग्नेछ’, मेस्सीले आफ्नो मातृभाषामा रजत पदक बोकेको तस्बिरसँगै लेखेका छन्।
‘हामीले प्रतियोगिताभरि देखाएको संघर्ष, समर्पण र देशभरका समर्थकबाट पाएको साथ जीवनभर सम्झिनेछौं’उनले भने, ‘यस उपलब्धिको वास्तविक मूल्यांकन अहिले नै गर्न गाह्रो छ। तर यो टोलीले लगातार दुई विश्वकप फाइनल खेलेको तथ्य गर्व गर्न लायक छ।’
मेस्सीले विश्वकप विजेता स्पेनलाई पनि बधाई दिएका छन्। उनले लेखेका छन्, ‘स्पेनलाई च्याम्पियन बनेकोमा हार्दिक बधाई। उनीहरूले उत्कृष्ट प्रदर्शन गरे।’
सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाएका मेस्सी यस पटक पनि टोलीलाई फाइनलसम्म पुर्याउन सफल भए। अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
प्रतियोगिताकै क्रममा ३९ वर्ष पुगेका मेस्सीले आफ्नो विश्वकप भविष्यबारे भने कुनै स्पष्ट संकेत दिएका छैनन्। सन् २०३० को विश्वकपसम्म पुग्दा उनी ४३ वर्षका हुनेछन्।
प्रतियोगिताको सुरुमै मेस्सीले मिरोस्लाभ क्लोसको १६ विश्वकप गोलको रेकर्ड तोडेका थिए। उनले २१ गोल गरेका थिए। यद्यपि उनलाई केलियन एमबाप्पे (२२) ले उछिनेका थिए।
प्रकाशित: ५ श्रावण २०८३ १३:२९ मंगलबार



-600x400.jpg)

