विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी शनिबार सम्मानित भएका छन्।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विजयीदशमी, शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा सम्मानित हुने खेलाडीहरू अजरबैजानको बाकुमा सम्पन्न विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा हुन्।
बविता, रोचक र पूजाले किक बक्सिङ र फुल कन्ट्याक्ट विधामा स्वर्ण, सागरले किक बक्सिङमा स्वर्ण फुल कन्ट्याक्टमा रजत र सुदर्शनले किक बक्सिङमा रजतका साथै फुल कन्ट्याक्टमा स्वर्ण जितेका थिए।
सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्री पनि सम्मानित भइन्। श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएका सनी सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कांस्य विजेता दावा शेर्पा र थाइल्यान्डमा भएको १२औं विश्व स्ट्रेन्थ लिफ्टिङ तथा इन्क्लान बेन्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए। आयोजकले नेपाल फुल कन्ट्याक्ट कराते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गर्यो।
नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले उनीहरूलाई सम्मान गरेका हुन्।
प्रकाशित: १२ आश्विन २०८२ ०६:२० आइतबार





