रुसले चर्चित अमेरिकी सामाजिक सञ्जाल प्लेटफर्म व्हाट्सएपमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने प्रयास गरेको छ। व्हाट्सएपको माउ कम्पनी मेटाले यो कुरा पुष्टि गरेको हो।
यसअघि टेलिग्राममाथि प्रतिबन्ध लगाइसकेको रुसले अब व्हाट्सएप, युट्युब, इन्स्टाग्राम र फेसबुक जस्ता प्रमुख अमेरिकी सामाजिक सञ्जालहरूमाथि पनि प्रतिबन्ध लगाउन खोजेको छ।
यी प्लेटफर्महरूको डोमेन रुसको राष्ट्रिय डिएनएस प्रणालीबाट हटाइएको छ, जसले गर्दा रुसी प्रयोगकर्ताहरूले सजिलै पहुँच गर्न सकिरहेका छैनन्।
सरकारी नियामक रोस्कोमनाडजोरले सुरक्षा, धोखाधड़ी र कानुन उल्लंघनका कारण यस्ता कदम चालेको जनाएको छ। यसले रुसी प्रयोगकर्ताहरूलाई सरकारी स्वामित्वको ‘म्याक्स’ जस्ता प्लेटफर्म प्रयोग गर्न बाध्य बनाएको छ। यसअघि नै फेसबुक, इन्स्टाग्राम प्रतिबन्धित थिए भने युट्युबमा पनि प्रतिबन्धहरू बढाइएका छन्।
बीबीसी, डोइचे वेले, रेडियो फ्री युरोप जस्ता अन्तर्राष्ट्रिय मिडिया तथा टोर ब्राउजर पनि ब्लक गरिएका छन्। रुसले विदेशी सामाजिक सञ्जाल र समाचार स्रोतहरूलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउने अभियान चलाएको देखिन्छ। यसले लाखौं रुसीहरूलाई विश्वव्यापी सेवाबाट टाढा राखेको छ।
पहिले नै व्हाट्सएप र टेलिग्रामको कल सुविधा ब्लक गरिसकिएको छ भने फेसटाइम र स्न्यापच्याट पनि प्रतिबन्धित छन्। यो कदमले रुसको ‘सार्वभौम इन्टरनेट’ नीतिलाई अझ कडा बनाएको रुपमा लिइएको छ। एजेन्सी
प्रकाशित: २९ माघ २०८२ १४:०७ बिहीबार


-600x400.jpg)


