फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा फ्रान्ससँग पराजित भएपछि पाराग्वेकी सिनेटर सेलेस्टे अमरिल्लाले फ्रान्सेली फरवार्ड किलियन एम्बाप्पेमाथि लक्षित गर्दै गरेको जातिवादी टिप्पणीको विरोध भएको छ।
अमरिल्लाले सामाजिक सञ्जाल 'एक्स' मा एम्बाप्पेको पारिवारिक पृष्ठभूमि र शिक्षालाई लिएर घृणास्पद टिप्पणी गरेकी थिइन्। उनले एम्बाप्पेलाई 'उपनिवेशवादी क्यामरुनी' भन्दै अपमानजनक शब्दहरू प्रयोग गरेकी थिइन्।
एमबाप्पेका बुबा क्यामरुनका मूल निवासी हुन् भने उनकी आमा अल्जेरियाली मूलकी हुन्, जसले गर्दा उनको पारिवारिक पृष्ठभूमि दुई फरक अफ्रिकी देशहरूसँग जोडिएको छ। तर एमबाप्पे भने फ्रान्समा नै जन्मिएका हुन्।
यसको कडा प्रतिवाद गर्दै एम्बाप्पेले लेखे, ‘म्याडम सेलेस्टे अमरिल्ला, तपाईं एक घृणित महिला हुनुहुन्छ र आफ्नो पदको लागि अयोग्य हुनुहुन्छ। तपाईं पाराग्वेको प्रतिनिधित्व गर्नुहुँदैन, त्यो देश जसले प्रतियोगिताभरि जोश र सम्मान प्रदर्शन गरेको थियो।’
एम्बाप्पेले थपे, ‘तपाईंको लापरवाही र निर्लज्ज जातिवादका कारण संसारले पाराग्वेका खेलाडीहरूको ऐतिहासिक प्रयासलाई बिर्सिसकेको छ। म उनी जस्ता मानिसहरूलाई संसारभरि घृणा र जातिवाद फैलाउने स्वतन्त्रता कहिल्यै दिनेछैन।’
यसैबीच, फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले अमरिल्लाको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा घृणित र अस्वीकार्य’ भनेको छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी टिप्पणीहरू आपराधिक र निन्दनीय छन्। एफएफएफ कानुनी कारबाहीका लागि सार्वजनिक अभियोजकको कार्यालयमा यो मुद्दा दर्ता गरिरहेको छ। फ्रान्सेली राष्ट्रिय टोलीका खेलाडीहरूले फ्रान्सको प्रतिनिधित्व गर्छन्, यो हाम्रो देशको अपमान हो।’
विश्वकपअघि पूर्व पाराग्वेली गोलकिपर जोस लुइस चिलाभर्टले पनि फ्रान्सेली टोलीलाई ‘अफ्रिकाको टोली’ भनेर टिप्पणी गरेका थिए, जसको एफएफएफ अध्यक्ष फिलिप डायलोले कडा शब्दमा निन्दा गरेका थिए।
आइतबारको खेलमा एम्बाप्पेले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै फ्रान्सलाई क्वार्टरफाइनलमा पुर्याएका थिए। फ्रान्सले अब शुक्रबार बोस्टनमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। सात गोल गरिसकेका एम्बाप्पे हालको विश्वकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। एजेन्सी
प्रकाशित: २३ असार २०८३ ०७:०३ मंगलबार





