फुटबल मैदानमा आफ्नो गति र दक्षताले विपक्षी रक्षापंक्तिलाई कडा चुनौती दिने फ्रान्सका कप्तान केलियन एम्बाप्पेले मैदानबाहिर पनि उत्तिकै प्रेरणादायी छवी बनाएका छन्।
क्लब फुटबलमा अर्बौं कमाउने यी स्टारले फ्रान्सको राष्ट्रिय टोलीबाट प्राप्त गर्ने सबै शुल्क, बोनस र पुरस्कार रकम दान गर्दै आएका छन्। सन् २०१७/२०१८ देखि राष्ट्रिय टोलीको नियमित सदस्य बनेयता उनले देशको जर्सी लगाएबापतको एक पैसा पनि आफूसँग राखेका छैनन्। यो उनको एकपटकको उदारता नभई वर्षौंदेखिको निरन्तर परोपकारी अभियान हो।
एम्बाप्पेका लागि राष्ट्रिय टोलीबाट खेल्नु पैसा कमाउने माध्यम होइन, बरु देशप्रतिको समर्पण र गर्वको विषय हो। उनी भन्छन्, ‘मलाई देशको प्रतिनिधित्व गरेबापत पैसा लिनु आवश्यक लाग्दैन। म त्यहाँ देशको झण्डा र प्रतिष्ठाका लागि खेल्न गएको हुँ। क्लबबाट पर्याप्त कमाइ हुन्छ, त्यसैले समस्यामा परेकाहरूलाई मद्दत गर्नु मेरो कर्तव्य हो।’
फ्रान्सेली फुटबल महासंघले पनि यसका लागि विशेष व्यवस्था गरेको छ, जसअन्तर्गत एम्बाप्पेको नाममा आउने चेक सिधै परोपकारी संस्थामा पठाइन्छ।
उनको दानको दायरा फराकिलो छ। सन् २०१८ को विश्वकप जितेपछि प्राप्त करिब ५ लाख डलर उनले ‘प्रिमियर्स डे कोर्डे’ संस्थालाई दिएका थिए, जसले अस्पतालमा उपचाररत तथा अपांगता भएका बालबालिकालाई खेलकुदमार्फत खुसी दिन्छ। यसबाहेक उनले ‘इन्स्पायर्ड बाई केएम’ फाउन्डेसनमार्फत पेरिसका विपन्न युवालाई शिक्षा, खेलकुद र व्यावसायिक विकासमा सहयोग गर्दै आएका छन्।
उनले यो विश्वकपबाट प्राप्त हुने सम्पूर्ण रकम पनि दान गर्नेछन्। कहिले मौरिटानियाका बिरामी बालबालिकाको उपचार खर्च बेहोर्ने, कहिले टोलीका सहयोगी कर्मचारीहरूलाई ठुलो रकम उपहार दिने जस्ता कार्यबाट उनले उदारताको उदाहरण प्रस्तुत गर्दै आएका छन्।
खेलको कुरा गर्दा फिफा विश्वकप २०२६ को तेस्रो स्थानको लागि भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ ले पराजित गरेको छ। आइतबार मियामी स्टेडियममा भएको यो खेलसँगै फ्रान्सको विश्वकप यात्रा समाप्त भएको छ। तर हारका बाबजुद एम्बाप्पेका लागि यो खेल व्यक्तिगत रूपमा ऐतिहासिक रह्यो। प्रदर्शनको हिसाबले पनि उनी इतिहास रच्दै छन्।
हालसम्म १० गोल गर्दै २०२६ को एकै संस्करणमा १० गोल गर्ने २१ औं शताब्दीका पहिलो खेलाडी बनेका छन्। जारी संस्करणमा उनलाई पछ्याइरहेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले एक खेल खेल्न बाँकी छ। स्पेनसँगको उपाधि भिडन्तअघि मेस्सीले कुल आठ गोल गरेका छन्, जुन एम्बाप्पेकोभन्दा दुई गोल कम हो।
कुल विश्वकप गोल संख्याको कुरा गर्दा २२ पुर्याउँदै उनले विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन्। विश्वकपमा मेस्सीको कुल गोल संख्या २१ पुगेको छ। तर उनले एक खेल्न बाँकी रहेका कारण एम्बाप्पेको यो कीर्तिमान तोड्ने सम्भावना भने कायमै रहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा
प्रकाशित: ३ श्रावण २०८३ १३:४० आइतबार





-600x400.jpg)