प्रतिबन्धपछि नेपाली क्रिकेटमा फर्किएका अलराउन्डर मोहम्मद अदिल आलमसँगै युवा स्पिनर युवराज खत्री र शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनको आकर्षण बन्न सफल भए।
ललितपुरस्थित रोयल ट्युपिलमा शनिबार कुल एक सय ५० क्रिकेटर एनपिएलको दोस्रो संस्करणको मिनी अक्सनमा थिए। तीमध्ये राष्ट्रिय टोलीका पूर्वसदस्य अदिलसँगै युवा बलर युवराज र अर्का अलराउन्डर शेर मल्ल आकर्षणको केन्द्र बिन्दुमा रहे।
अदिल र युवराज पहिलोपल्ट एनपिएल खेल्ने लक्ष्यमा थिए। शेर पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सका पूर्वसदस्य हुन्। यो अक्सनमा अदिल क्याटगोरी ‘ए’ मा समावेश थिए।

शेर र युवराज भने ‘बी’ क्याटगोरीको खेलाडी हुन्। ‘ए’ को अधिकतम मूल्य १५ लाख र ‘बी’ १० लाख हो। अक्सनमा आठ वटै फ्रेन्चाइच टोलीले अदिलमाथि बोली लगाए।

त्यसपछि सबैभन्दा बढी रोजाइमा युवराज रहे। उनीमाथि पाँच टोलीले दाबेदारी दिए। शेरमाथि पनि चार टोलीले बोली लगाए। अधिकतम मूल्यपछि लक्की ड्र भयो। जहाँ काठमाडौं गोर्खाजले अदिल, कर्णाली याक्सले युवराज र लुम्बिनी लायन्सले शेरलाई आफ्नो बनाउन सफल भयो।
अदिलमाथि दुई वर्षभन्दा लामो समयको प्रतिबन्ध गत वैशाखमा मात्र फुकुवा भएको हो। स्पट फिक्सिङका कारण उनी प्रतिबन्धमा थिए। २०७९ सालको पुस ९ देखि २७ गतेसम्म सम्पन्न नेपाल टी ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको पाइएपछि एन्टी करप्सन कोडअन्तर्गत उनीमाथि कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी नेपाल क्रिकेट संघ (क्यान) ले प्रतिबन्ध लगाएको थियो।
उनै अदिल अक्सनमा सबैको प्रतीक्षारत खेलाडी बने। अक्सनको उनको नाम सुन्ने बित्तिकै रोमाञ्चकपूर्ण माहोल सिर्जना भएको थियो। युवराजलाई भित्र्याएसँगै कर्णाली याक्सले आफ्नो टिम पूरा गरेको थियो।
कर्णालीले चार खेलाडी खरिद गर्न पाउने थियो। त्यसमा कर्णालीले यसअघि नै क्याटोगोरी ‘ए’ का पवन सराफ र ‘सी’ बाट दीपक डुम्रे र इमरान शेखलाई भित्र्याएको थियो।
कर्णाली जारी अक्सनमा टिम पूरा गर्ने दोस्रो टोली हो। आठ फ्रेन्चाइज टोलीमध्ये काठमाडौंले यसअघि नै आफ्नो टिम पूरा गरिसकेको थियो। मिनी अक्सनबाट ३७ बिक्री भए। त्यसपछि ११ जना विस्ट लिस्टबाट विभिन्न फ्रेन्चाइच टोलीमा आबद्ध भएका छन्। न्यूनतम मूल्यभन्दा कममा विस्ट लिस्टमा समावेश गरिन्छ। क्याटगोरी ‘ए’ मा आठ जना, ‘बी’ ३७ र ‘सी’ मा ११८ खेलाडी ड्राफ्टमा समावेश थिए।
पहिलो चरणमा ११ खेलाडी
मिनी अक्सनको पहिलो चरणमा ६० खेलाडी तान्दा ११ खेलाडी बिक्री भए। यस क्रममा क्याटगोरी ‘ए’ का देव खनाल, अर्जुन साउद र पवन सर्राफ सर्वाधिक १५ लाख रुपैयाँमा बिक्री भएका हुन् ।
देव र अर्जनु चितवन राइनोजमा र पवन कर्णाली याक्समा लक्की ड्रमार्फत पुगेका हुन्। क्याटगोरी ‘ए’ कै लेफ्ट आर्म बलर सूर्य तामाङ विराटनगर किङ्समा न्युनतम मूल्य १० लाख रुपैयाँमा बिक्री भए। विराटनगरको मार्की स्पिनर सन्दीप लामिछाने हुन्। सोही विराटनगरले सूर्यलाई खरिद गरेको हो। क्याटगोरी ‘बी’ बाट दिलीप नाथ लुम्बिनी लायन्समा, हेमन्त धामी सुदूरपश्चिम रोयल्समा, सूर्य तामाङ विराटनगर किङ्समा सर्वाधिक मूल्य १० लाख रुपैयाँमा बिक्री भए। ‘सी’ क्याटगोरीका विशाल पटेल लक्की ड्रमार्फत लुम्बिनी लायन्समा पुगे। उनका लागि लुम्बिनीसँगै पोखरा एभेन्जर्स अधिकतम् मूल्य पाँख लाख बोली लगाएका थिए।
यसै क्याटगोरीका आदित्य महता पनि लक्की ड्रबाट जनकपुर बोल्ट्स अधिकतम मूल्य पुगे। अलराउन्डर सन्तोष यादव लक्की ड्रमार्फत अधिकतम १० लाखमा काठमाडौं गोर्खाजमा जोडिए। उनका लागि कर्णाली याक्स र लुम्बिनी लायन्सले बोली लगाएका थिए। मायन यादवलाई जनकपुर बोल्ट्सले सात लाख ७५ हजार रुपैयाँ आफ्नो बनाउन सफल भयो। क्याटगोरी ‘बी’ का मायनलाई कर्णाली याक्सले पनि बोली लगाए पनि बीचमा नै पछि हट्यो।
बिक्री भएनन् अनुभवी ब्याटर
दोस्रो संस्करणको मिनी अक्सनमा नेपाली क्रिकेटका अनुभवी क्रिकेटरहरू बिक्री भएनन्।
आइसिसी टी ट्वान्टी विश्वकप खेलिसकेका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिनी अक्सनमा बिक्री हुन नसकेका हुन्। उनीमाथि कुनै पनि टोलीले बोली लगाएनन्। उनी क्याटगोरी ‘बी’ मा छन्। विस्ट लिस्टमा पनि उनी कुनै टोलीमा समावेश रहेनन्। पहिलो संस्करणमा उनले चितवन राइनोजबाट खेलेका थिए।
अर्का अनुभवी क्रिकेटर प्रदीप ऐरी पनि बिक्री भएनन्। आइसिसी यु–१९ विश्वकप खेलेका पृथु बास्कोटा बिक्री भएनन्। उनी क्याटगोरी ‘ए’ मा थिए। यस मिनी अक्सनमा कुल १५० खेलाडी ड्राफ्टमा थिए।
आइसिसी यु–१९ विश्वकप खेलेका पृथु बास्कोटा बिक्री भएनन्। उनी क्याटगोरी ‘ए’ मा थिए। यस मिनी अक्सनमा कुल १५० खेलाडी ड्राफ्टमा थिए।
प्रकाशित: २४ श्रावण २०८२ २२:११ शनिबार





