५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

सहिद स्मारक महिला लिग: संकटा र आर्मीको सुखद सुरुआत

चार विदेशी खेलाडीको साथमा संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा सहिद स्मारक महिला लिगमा सुखद सुरुआत गरेका छन्।

ललितपुरस्थित च्यासल स्टेडियममा बुधबारदेखि भएको महिला लिगमा संकटा र आर्मीले फराकिलो जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन्। पहिलो खेलमा संकटाले छिमेकी क्लब न्युरोड टिम (एनआरटी) माथि ४–० को रबाफिलो जित आत्मसात् गर्‍यो। संकटाको जितमा चारमध्ये तीन गोल विदेशी खेलाडीले गरे। म्यानमारकी विन थेइङ्गी तुन, मोजाम्बिककी लुसिया जोस र घानाकी क्विनाबेल अकुसुआले गोल गरे। थप एक गोल सुक्रिया मियाले गरेकी हुन्। विदेशी खेलाडी चम्किएपछि संकटा पूर्ण हाबी भयो। अर्को खेलमा विभागीय टोली आर्मीले झापा एफसीमाथि ५–० को एकपक्षीय जित निकाल्यो।

आर्मीका अञ्जना थुलुङ राईले दुई तथा दीपा शाही, हिमा चौधरी र तुलसा बोहोराले समान एक गोल गरे। झापाले चुनौती दिने प्रयास गरे पनि सफल भएन। झापाले खेलको ५६औं मिनेटसम्म आर्मीलाई रोकेको थियो तर त्यसपछि थकित देखिएको झापाले एकपछि अर्को गोल बेहोर्‍यो। झापाले खेल अवधिभर एउटा पनि राम्रो अवसर सिर्जना गर्न सकेन। यद्यपि, सुरुआतमा झापाको रक्षात्मक रणनीति आर्मीका लागि चुनौती बन्यो। यसले खेलको पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। आर्मीको एकपछि अर्को अवसर सिर्जना अफसाइड ट्य्रापमा पर्‍यो। आर्मीका प्रशिक्षक राजु तामाङले दोस्रो हाफमा रणनीति परिवर्तन गरे।

उनले चन्द्रा भण्डारीको स्थानमा तुलसा बोहारा र विमला चौधरीको स्थानमा सपना लामालाई मैदान प्रवेश गराए। यसपछि आर्मीले बल पोसेसन राख्दै झापामाथि लगातार दबाब बनाउन थाल्यो। ५७औं मिनेटमा दीपाको गोलबाट आर्मीले अग्रता लिन सफल भयो। मध्य भागबाट दीपा राईले दिएको पास सदुपयोग गर्दै दीपाले अग्रता दिलाएकी हुन्। उनले करिब १५ यार्डबाट झापाकी गोलकिपर सुजता तामाङ अगाडि बढेको अवस्थामा बललाई जाली चुमाइन्। यो गोलपछि झापा दबाबमा पर्‍यो। यसको फाइदा उठाउँदै आर्मीले दोस्रो गोल गर्‍यो। ६८औैं मिनेटमा हिमाले गोल गर्दै आर्मीलाई २–० ले अगाडि बढाइन्। थ्रो बललाई सदुपयोग गर्दै उनले पेनाल्टी बक्सभित्रबाट गोल गरेकी हुन्।

अन्तिम १० मिनेट झापाको डिफेन्स लाइन निकै खराब रह्यो। यस क्रममा आर्मीले तीन गोल थप्यो। ८०औं मिनेटमा जेनिफर रानाको स्थानमा अञ्जना थुलुङ राई मैदान प्रवेश गरिन्। अञ्जनाले आफ्नो प्रभाव छाड्दै दुई गोल गर्न सफल भइन्। ८६औं मिनेटमा अञ्जनाले गोल गर्र्दै आर्मीलाई ३–० ले अगाडि बढाइन्। लेफ्ट साइडबाट दीपा शाहीले दिएको क्रस सदुपयोग गर्दै अञ्जनाले वान टचमार्फत बललाई जाली चुमाएकी हुन्। ९०औं मिनेटमा झापाका गोलकिपर सुजाताको गल्तीमा आर्मीले चौथो गोल गर्‍यो। सञ्जु कुमालको थ्रु बल नियन्त्रणमा लिँदै अञ्जनाको फितलो प्रहार सुजाताले हातबाट फुत्काइन्। इन्जुरी समयमा तुलसाले गोल गर्दै आर्मीलाई ५–० को जित दिलाइन्। यससँगै झापाले फराकिलो हारबाट लिगको सुरुआत गर्‍यो।

बुधबारदेखि च्यासल रंगशालामा सुरु भएको लिगमा तीन विभागीय टोलीसहित कुल ९ क्लबले प्रतिस्पर्धा गर्दै छन्। घरेलु प्रतियोगितामा सबैभन्दा बलियो दाबेदार रहँदै आएको एपिएफ डिफेन्डिङ च्याम्पियन हो। तर, यसपल्ट एपिएफलाई अन्य दुई विभागीय टोली नेपाल पुलिस, आर्मी र संकटाले चुनौती दिन सक्ने अनुमान गरिएको छ।

वैशाख १२ गतेसम्म सञ्चालन हुने लिग सिंगल राउन्ड रोबिन पद्धतिमा हुँदै छ। एन्फाले सुरुवातमा १० टोली सहभागी हुने उल्लेख गरेको थियो। वालिङ नगरपालिकाले आर्थिक कारण देखाउँदै नाम फिर्ता लिएपछि एन्फाले राप्ती एफसीलाई समावेश गर्ने निर्णय गरेको थियो तर अन्तिम समयमा अन्य क्लबहरूको विरोधपछि राप्तीलाई अयोग्य ठहर गर्दै लिगमा ९ टोली मात्र सहभागी गराइएको हो। एन्फाले यस प्रतियोगिताको पुरस्कार रकमबारे भने जानकारी दिएको छैन।

प्रकाशित: ५ चैत्र २०८२ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App