पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपमा मनाङमर्स्याङ्दी क्लवले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा बिहीबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई एकविरुद्ध दुई गोलको संघर्षपूर्ण जित निकाल्दै मनाङमर्स्याङ्दीले विजयी यात्रा सुरु गरेको हो।
पहिलो जित निकालेको मनाङमर्स्याङ्दी क्वाटरफाइनलमा प्रवेश गरेको छ। मनाङले अब भारतको थन्डरबोल्ट नर्थ युनाईटेडसँग फागुन ४ गते सोमबार सेमीफाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्नेछ।
एपीएफले अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरिन पुगेको छ। खेलको ११ औं मिनेटमै गोल गर्दै एपीएफले अग्रता लिएको थियो। एपीएफका लागि युवराज राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर सो अग्रता जोगाउन नसक्दा एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो हाफसम्म अग्रता जोगाएको एपीएफ दोस्रो हाफमा भने सम्हालिन सकेन। खेलको ५७ औं मिनेटमा रोनिष धाके राजभाकले पहिलो गोल गर्दै मनाङमर्स्याङ्दीलाई बराबरीमा ल्याए। त्यसको २० मिनेटपछि खेलको ७७ औं मिनेटमा सुरेश कुमालले गोल थप्दै मनाङलाई २–१ को अग्रता दिलाए। त्यसपछि दुवैतर्फ थप गोल हुन नसकेपछि मनाङको जित सुनिश्चित भयो।
बिहीबारको खेलमा मनाङमर्स्याङ्दीका रोनिष धाके राजभाक प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिता अन्तर्गत शुक्रबार फ्रेण्डस् क्लव र प्लानिङ ब्वाईज युनाईटेड आमनेसामने हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।
प्रकाशित: २९ माघ २०८२ २१:०० बिहीबार





