नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले देशमा विधि पद्धति कमजोर बन्दै जाँदा प्रजातन्त्रका मूल्यमान्यता खुम्चिँदै गएको बताएका छन्। प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदैं उनले पछिल्लो समय राज्य सञ्चालनमा भागबण्डाको प्रवृत्ति बढ्दै जादाँ लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाएको बताए।
नेता भण्डारीले प्रजातन्त्रलाई प्रश्न उठाउन पाउने दिनको सुरुवात र जनताको अधिकार संरक्षणको ऐतिहासिक आरम्भका रूपमा व्याख्या गर्दै सुशासन र पारदर्शिताको अभावले यसको आधारभूत मूल्यहरूमाथि नै प्रश्न उठेको बताए। उनले सुशासन र पारदर्शिताका लागि जेन जी पुस्ताले समेत ज्यान गुमाउनु परेको बताए।
प्रजातन्त्रलाई जनताको जीवनस्तरसँग प्रत्यक्ष रूपमा जोड्न नसक्दा त्यसको औचित्य कमजोर भएको भन्दै कानुनको राज स्थापना गर्दै गलत प्रवृत्ति र व्यक्तिलाई कानुनी दायराभित्र ल्याई प्रजातन्त्रलाई सही परिभाषाभित्र राख्दै जनताको सुख–सुविधासँग जोड्न बताए।
प्रकाशित: ७ फाल्गुन २०८२ १२:१२ बिहीबार





