पाकिस्तानको कराचीमा मंगलबार एक आवासीय भवनको भाग ढल्दा १० जनाको मृत्यु भएको छ। मृतकमध्ये महिला र बालबालिका पनि रहेका छन्। दुर्घटनामा ११ जना घाइते भएका छन्।
उद्धार सेवाका अनुसार गुल राना कोलोनी क्षेत्रमा शंकास्पद ग्यास चुहावटका कारण विस्फोट भएको थियो, जसमा भवनको एक भाग भत्किएको हो। घाइते र मृतकलाई सिभिल अस्पतालमा लगिएको छ। प्रहरी प्रवक्ताका अनुसार प्रारम्भिक अनुसन्धानमा ग्यास चुहावटकै कारण विस्फोट भई भवनको भाग ढलेको देखिएको छ।
उद्धार टोलीले घटनास्थलमा खोज तथा उद्धार अभियान जारी राखेको जनाएको छ। प्रहरीले क्षेत्रलाई घेराबन्दी गरी सुरक्षा कडा बनाएको छ भने उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी सुरु गरेका छन्। ऐजेन्सी
प्रकाशित: ७ फाल्गुन २०८२ १२:४३ बिहीबार





