पूर्वलिग विजेता ए-डिभिजन क्लब मछिन्द्रले तेस्रो संस्करणको इलाम गोल्डकप उपाधि चुमेको छ।
शनिबार इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा मछिन्द्रले डिफेन्डिङ च्याम्पियन ए-डिभिजन क्लब न्युरोड टिम (एनआरटी)लाई २-० गोलान्तरले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो। उपाधिसँगै मछिन्द्रले नगद १० लाख रुपैयाँ हात पारेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा मछिन्द्रका सौरभ सुब्बाले गोल गर्दै सुरुआती अग्रता दिलाए। सौरभले गोल गरेको ३ मिनेटमै मछिन्द्रका मिलन चाम्लिङले टिमका लागि दोस्रो गोल गरे। धेरै अवसर सदुपयोग गर्न नसक्दा एनआरटीले उपविजेता हुँदै नगद ५ लाखमा चित्त बुझायो।
फाइनल खेलको म्यान अफ द म्याच मछिन्द्रका प्रदीप बुढाथोकी भए। उनले नगद ८ हजार १ सय पाए। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एनआरटीका आशिष गुरुङ, मिडफिल्डर मछिन्द्रका युवराज ढकाल, सर्वाधिक गोलकर्ता मछिन्द्रका मिलन चाम्लिङ (३ गोल), उत्कृष्ट प्रशिक्षक मछिन्द्रका प्रवेश कटवाल भए। उनीहरूले जनही १५ हजार र ट्रफी प्राप्त गरे।
उदीयमान खेलाडी रेडहर्सका विवेक सुनाम भए, उनले नगद २५ पाए। सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका सनिस श्रेष्ठ घोषित भए उनले नगद ५१ हजार पाए। रेडहर्स फुटबल क्लबको आयोजनामा वैशाख ५ मा सुरु भएको प्रतियोगितामा ८ टिम सहभागी थिए। विजेताहरूलाई इलाम नगरपालिका प्रमुख केदार थापालगायतले पुरस्कृत गरे।
प्रकाशित: १३ वैशाख २०८३ १०:२६ आइतबार





