काठमाडौंका विभिन्न अस्पतालमा हैजाका शंकास्पद बिरामी पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मंगलबार सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा उपचारका लागि पुगेका एक जना र सोमबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा पुगेका अर्का एक जनामा शंकास्पद हैजा देखिएको हो। उनीहरूमा आरडीटी (र्यापिड डाइग्नोस्टिक टेस्ट) परीक्षणबाट हैजाको संकेत देखिएको छ।
उनीहरू झाडापखाला र बान्ताका लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। उनीहरूको नमूनाको कल्चर परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको रोग निगरानी शाखाका प्रमुख हेमराज पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार कल्चर रिपोर्ट आएपछि मात्रै थप निगरानी र आवश्यक प्रक्रिया अघि बढाइनेछ। कल्चर परीक्षणको रिपोर्ट आउन करिब ४८ घण्टा लाग्छ। उनका अनुसार लक्षण भएका बिरामीमा आरडीटी किटमार्फत परीक्षण गरिएको भए पनि त्यसको नतिजामात्रका आधारमा हैजा यकिन गर्न नमिल्ने र कल्चर रिपोर्टपछि मात्र पुष्टि हुने बताए।
उपत्यकाका कुनै पनि स्वास्थ्य संस्थामा हैजाको लक्षण भएका बिरामी पुगेमा तत्काल महाशाखालाई जानकारी गराई आवश्यक सहकार्य गर्न महाशाखाले आग्रह गरेको छ। संक्रामक तथा प्रकोपजन्य रोगको समयमै व्यवस्थापन गर्न आवश्यक किट, औषधि तथा अन्य सामग्री तयारी अवस्थामा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. अनुज भट्टचनले जानकारी दिए।
"हामीसँग औषधि, किट तथा अन्य आवश्यक सामग्री तयारी अवस्थामा छन्," उनले भने।
हैजा परीक्षणका लागि आवश्यक आरडीटी किट महाशाखामा पर्याप्त मात्रामा रहेको र जुनसुकै स्वास्थ्य संस्थामा शंकास्पद बिरामी देखिएमा महाशाखासँग सम्पर्क गरी आवश्यक किट लैजान रोग निगरानी शाखाले आग्रह गरेको छ।
"हामीसँग आवश्यक किट तयारी अवस्थामा छन्। किटबाट परीक्षण गर्दा प्रारम्भिक जानकारी छिट्टै प्राप्त हुन्छ," शाखा प्रमुख पाण्डेले भने।
केही समयअघि राजधानीकै सिभिल अस्पतालमा हैजाका लक्षण लिएर उपचारका लागि आएका बिरामीमा पनि हैजा पुष्टि भएको थियो। उनीहरूमा आरडीटी परीक्षणबाट प्रारम्भिक रूपमा संक्रमण पहिचान भएको अस्पतालका कार्यवाहक निर्देशक डा. रविप्रकाश शर्माले बताए। उनका अनुसार लक्षणसहित आएका बिरामीमा आरडीटी परीक्षण गर्दा हैजाको संक्रमण देखिएको थियो।
उपत्यकाबाहेक मनसुन सुरु भएयता गत जेठ ६ गते मोरङको विराटनगरमा एक जना र बझाङमा एक जनामा हैजा पुष्टि भइसकेको छ। सन् २०२६ मा नेपालभर ४४ जना शंकास्पद हैजाका बिरामी र ३ हजार ६३२ जना झाडापखालाका बिरामी देखिएको महाशाखाको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ३० असार २०८३ १९:३४ मंगलबार




-600x400.jpg)