मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) बलात्कार मुद्दामा दोषी ठहरिएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई बलात्कार कसुरमा दोषी ठहर गरेको हो।
अदालतले दोषी ठहर गरे पनि अहिराजको सजाय निर्धारण भने अर्को पेसीबाट हुने जनाएको छ।
मंगलबार भएको अन्तिम बहसका क्रममा पीडित पक्षका तर्फबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरेका थिए भने विपक्षीका तर्फबाट अधिवक्ता विजय मिश्रसहित १४ जना कानुन व्यवसायीले प्रतिरक्षा बहस गरेका थिए।
अहिराजविरुद्ध आफ्नै कोठामा कोही नभएको मौका छोपी २०८१ जेठ ४ गते पीडितमाथि पटक-पटक जबरजस्ती करणी गरेको अभियोग दर्ता भएको थियो।
पीडितका अनुसार उक्त घटनापछि कसैलाई बताएमा ज्यान मार्नेसमेतको धम्की अहिराजले दिएका थिए। सोही विषयलाई लिएर २०८१ साल माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौमा जाहेरी दर्ता भएको थियो
जाहेरी दर्ता भए पनि प्रहरीले तत्कालै अहिराजविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन। प्रहरीले जाहेरी परेको लामो समयपछि २०८१ चैत २५ गते मात्र जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त गरेको थियो। पक्राउ अनुमति पाएको केही समयपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
दोषी ठहर भएका अहिराज २०७७ साल फागुन ७ गतेदेखि २०७८ साल साउन ३२ गतेसम्म मधेस प्रदेशको प्रदेश प्रमुखका रूपमा कार्यरत थिए। जबरजस्ती करणीको अभियोग लागेका उनी मुद्दाको प्रारम्भिक आदेशपछि पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्।
प्रकाशित: ३० असार २०८३ २२:०९ मंगलबार



-600x400.jpg)

