नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत बुधबारको खेलमा लुम्बिनी लायन्सले जित निकाल्दै चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै लुम्बिनीले प्लेअफमा पुग्ने सम्भावना पनि जीवित राखेको हो।
लुम्बिनीको जितमा ब्याटिङतर्फ डार्सी सर्ट नायक रहँदा बलिङमा शेर मल्लले उत्कृष्ट प्रदर्शन गरे। १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि डार्सीले ४४ बलमा ४ चौका र दुई छक्काको मद्दतले ५७ रनको योगदान दिए। यस्तै निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रनको योगदान दिए। जसको मद्दतले १७ ओभर ४ बलमै ५ विकेट गुमाएर लुम्बिनीले लक्ष्य भेट्टायो।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुबास भण्डारीले दुई–दुई विकेट लिँदा बसिर अहमदले एक विकेट लिए।
यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका थिए। जसमा विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन जोडेको थियो।
जसमा बसिर अहमदले १९ बलमा २८ रनको योगदान दिँदा लोकेश बमले ४२ बलमा ३५ रन बनाए। यस्तै साम हेजलेटले २० बलमा २७ रनको योगदान दिएका थिए।
लुम्बिनीका बलर शेर मल्लले ३, जेजे स्मिथ, अभिशेष गौतम, रुबेन ट्रम्पलम्यानले एक–एक विकेट लिएका थिए।
प्रकाशित: १७ मंसिर २०८२ १९:२२ बुधबार





