२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एनपिएल: ब्याटरले धैर्यता नगुमाउँदा लुम्बिनी दोस्रो क्वालिफायरमा

ब्याटिङमा संघर्ष गर्नुपरेको पिचमा जित निकाल्दै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

कीर्तिपुर भएको इलिमिनेटरमा लुम्बिनीले बुधबार काठमान्डु गोर्खाजमाथि चार विकेटको जित निकाल्दा दुवै टोलीका ब्याटरले निकै संघर्ष गर्नुपर्‍यो तर सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले धैर्यपूर्वक ब्याटिङ गर्दै लगातार चौथो खेलमा जित निकाल्यो। जुन जितले रोहितकुमार पौडेल कप्तानी रहेको लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भेट पक्का गर्‍यो।

विराटनगर मंगलबार सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएको हो। सुदूरपश्चिमबाहेक तीन टोली पहिलोपल्ट प्लेअफमा पुगेका हुन्। तीमध्ये बाहिरिने पहिलो टोली काठमान्डु बन्यो। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डुले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। यद्यपि, त्यो निर्णय सही साबित भएन।

त्रिवि क्रिकेट मैदानमा काठमान्डुले एक सय ११ रनको सामान्य लक्ष्य दियो। त्यो लक्ष्य पछ्याउने क्रममा काठमान्डुले पनि निकै संघर्ष गर्नुपर्‍यो तर धैर्यपूर्वक ब्याटिङ गर्दै लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। हारपछि काठमान्डुका प्रशिक्षक मोन्टीले पनि टस जित्ने निर्णय सही हुन नसकेको उल्लेख गरे। ‘यस एनपिएलमा टस जित्ने टोलीलाई पिच बुझ्न गाह्रो नै भएको छ। आज हाम्रो लागि पनि त्यस्तै भयो। पिच सोचेभन्दा फरक देखियो,’मोन्टीले भने,‘यो पिचमा १३०/१४० जति लक्ष्य बन्नु पर्दथ्यो। तर, सुरुआती विकेट छिटै गएपछि खेलाडीले दबाब महसुस गरे। आवश्यक रन बोर्डमा बन्न सकेन तर पनि खेलाडीले फाइटिङ स्पिरिट देखाए।’

अब लुम्बिनीले बिहीबार नै दोस्रो क्वालिफायरमा विराटनगरसँग खेल्नेछ। लगातार दोस्रो खेल खेल्नुपर्दा लुम्बिनीका लागि सहज हुने छैन। यद्यपि, लुम्बिनीका कप्तान रोहितले आफूहरू विराटनगरसँग खेल्न तयार नै रहेको र लगातार दुई खेलले असर नपर्ने बताए। ‘विराटनगर राम्रो टोली हो। त्यहाँ क्षमतावान् खेलाडीहरू हुनुहुन्छ। अबको भेट उहाँहरूसँग नै छ, त्यो पनि लगातार खेल छ। तर हामी तयार छौं। यसले कुनै असर पर्दैन,’रोहितले भने,‘नकआउट खेल हो, दुवैलाई दबाब हुन्छ। जसले त्यसलाई राम्रोसँग समाल्न सक्छ, त्यो टोलीले जित्छ।’

गत सिजन लिगको पुछारमा रहेको लुम्बिनी यसपल्ट पनि कठिन स्थितिमा थियो तर लिगका अन्तिम तीन खेल जित्दै लुम्बिनीले उत्कृष्ट पुनरागमन गरेको हो।

आफ्नो विजयीयात्रा लुम्बिनीले काठमान्डुविरुद्ध पनि जारी राख्यो। सामान्य लक्ष्य भए पनि लुम्बिनीका ब्याटरले निकै संघर्ष गरे। ओपनर डार्सी सटले ३३ रन बनाए। यो नै लुम्बिनीका लागि सर्वाधिक ठूलो व्यक्तिगत रन बन्यो। उनले ३४ बलमा दुई छक्का हिर्काए। सबै ब्याटरले सुस्त ब्याटिङ गर्दै जतिसक्दो लक्ष्यनजिक पुर्‍याउन प्रयास गरे। तेस्रो ओभरमै ओपनर दिनेश अधिकारी ४ रनमा आउट भए। यो विकेटसँगै लुम्बिनीले दबाबमा रहेर ब्याटिङ गर्‍यो। त्यसपछि रोहित पौडेलले २५ बलमा १८ रन जोडे। सन्दीप जोराले २३ बलमा २३ र विकेटकिपर निरोशान डिकवेलाले १४ बलमा १४ रन बनाए।

सुस्त ब्याटिङ गरे पनि सामान्य लक्ष्य लुम्बिनीले १४ बलअगावै पूरा गर्‍यो। काठमान्डुको बलिङमा सन्तोष यादवले दुई तथा करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खानले समान एक विकेट दिलाए पनि हार टार्न सकेनन्। यससँगै पहिलोपल्ट प्लेअफमा पुगेको काठमान्डुको यात्रा इलिमिनेटरमा नै सीमित भयो। सुरुदेखि संघर्ष गरेको काठमान्डु १९.१ ओभरमा एक सय ११ रनमै अलआउट भयो। यससँगै टस जितेर पहिले ब्याटिङ गर्ने काठमान्डुको निर्णय खराब बन्यो।

आठौं नम्बरमा आएका सन्तोष यादवले २३ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। शीर्ष चार ब्याटरले दोहोरो अंकमै रन बटुल्न सकेनन्। ओपनरद्वय बेन चाल्र्सवर्थ ४ र आकाश त्रिपाठी १ रनमै आउट भए।

सन्नी ७ र मिलिन्द कुमार २ रनमा पभेलियन फर्किए। तीव्र गतिका बलर रुबेन ट्रम्पलमेन र स्पिनर शेर मल्लले काठमान्डुका शीर्ष चार ब्याटर सस्तैमा आउट गरे। ४.१ ओभरमा काठमान्डु १४/४ को नाजुक अवस्थामा पुग्यो। दबाबमा परेको काठमान्डुले पावरप्लेमा २९ रन मात्र जोड्यो।

पाँचौं विकेटका लागि भीम सार्की र जोन सिम्पसनले ३६ रनको साझेदारी गर्दै इनिङ समाल्ने प्रयास गरे। दशौं ओभरमा दुवै आउट भए। कप्तान रोहितले भीमलाई १४ र सिम्पसनलाई १८ रनमा आउट गरे। तल्लो क्रमका ब्याटर सन्तोषले इनिङलाई सम्मानजनक स्थितिमा पुर्‍याए। लुम्बिनीको बलिङमा शेर र कप्तान रोहितले समान तीन तथा ट्रम्पलमेनले दुई र अभिशेष गौतमले एक विकेट लिए।  

प्रकाशित: २५ मंसिर २०८२ ०६:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App