९ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

जर्मनीमा क्लोपको नयाँ अध्याय

कुनै समय उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका समर्थकका लागि फुटबलका ‘मसिहा’ थिए। अहिले उनी आफ्नै देश जर्मनीको फुटबललाई पुनर्जीवित गर्ने जिम्मेवारी बोक्दै राष्ट्रिय टोलीको बेन्चमा उभिएका छन्।

उत्तरी अमेरिकामा गत साता सम्पन्न फिफा विश्वकपमा युरोपको जायन्टका रूपमा हेरिएको जर्मनीका लागि सुखद रहेन। किनकि अन्तिम ३२ मा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेसँग पेनाल्टी सुटआउटमा अप्रत्याशित रूपमा स्तब्ध हुँदै जर्मनी बाहिरिन पुग्यो। पछिल्ला केही नतिजासँगै यो हारपछि जर्मन फुटबल गहिरो संकटमा देखिन्छ। त्यस हारसँगै मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले पदबाट राजीनामा दिए। चार पटकको विश्वविजेता राष्ट्र फेरि एकपटक आफ्नो पहिचानको खोजीमा पुग्यो। त्यही संकटको घडीमा जर्मन फुटबल संघ (डिएफबी) ले अन्ततः सबैभन्दा विश्वास गरिएको नाम रोज्यो, योर्गान क्लोप। जर्मन फुटबलले क्लोपसँग सन् २०३० सम्मका लागि चार वर्षे सम्झौता गरेको छ।

यो सम्झौतापछि अब उनले जर्मनीलाई युरो २०२८ र २०३० को विश्वकपसम्म नेतृत्व गर्नेछन्। उनको पहिलो खेल सेप्टेम्बर २४ मा नेदरल्यान्ड्सविरुद्ध हुनेछ। त्यो नै क्लोपका लागि पहिलो परीक्षा बन्न सक्नेछ। ‘जर्मन राष्ट्रिय टोलीजस्तो हाम्रो देशलाई एकताबद्ध गर्न सक्ने अर्को धेरै कुरा छैन। यही कारणले यो जिम्मेवारी मेरा लागि अत्यन्त विशेष छ,’ राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेपछि क्लोपले भने। व्यावसायिक फुटबलमा हेर्दा उनको नाम सफल प्रशिक्षकहरूको सूचीमा गनिन्छ। किनकि युरोपेली फुटबलमा उनका सफलता धेरै छन्। लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिग उपाधि दिलाउने प्रशिक्षक, च्याम्पियन्स लिग विजेता बोरुसिया डर्टमुन्डलाई दुई पटक बुन्डेसलिगा जिताउने उनै क्लोप हुन्। त्यसैले जर्मनीकै महान् प्रशिक्षकमध्ये एकका रूपमा उनलाई हेरिन्छ।

उनको नियुक्तिलाई धेरैले जर्मन फुटबलको नयाँ सुरुआतका रूपमा हेरेका छन्। नागेल्समेनको राजीनामापछि जर्मन फुटबल संघका अध्यक्ष बेन्र्ड नोयन्डोर्पmका लागि क्लोप नै पहिलो र एक मात्र रोजाइ थिए। ‘उहाँ जोस, विश्वसनीयता र मानिसलाई प्रेरित गर्ने क्षमता भएका व्यक्ति हुनुहुन्छ। त्यसैले हामीले उहाँलाई भिœयाउन कुनै कसर बाँकी राखेनौं,’ नोयन्डोर्फले भने। क्लोपले आफ्नो पुरानो सफल टोलीलाई पनि साथमा ल्याएका छन्। लिभरपुलमा उनीसँग लामो समय काम गरेका सहायक प्रशिक्षक पेप लिजेन्डर्स र पिटर क्राभिट्ज जर्मनीको नयाँ प्राविधिक टोलीमा रहनेछन्। जर्मनीको आशा छ, यही समूहले लिभरपुलमा जस्तै राष्ट्रिय टोलीलाई पनि पुरानै गौरव फर्काउनेछ। जर्मनीको प्रतिष्ठित फुटबल पत्रिका किकरको एक सर्वेक्षणमा ८० प्रतिशत पाठकले क्लोप जर्मनीका सही छनोट भएको बताएका छन्।

‘जित्ने मानसिकताको अभाव र समर्थकसँग बढ्दो दूरी’ यो पछिल्ला केही वर्षदेखि जर्मन टोलीमाथि लाग्दै आएको मुख्य आरोप हो। ‘मेन्टालिटी मोन्स्टर’ भन्ने शब्दलाई लोकप्रिय बनाएका क्लोप यी दुवै समस्या समाधान गर्न सक्ने प्रशिक्षकका रूपमा हेरिन्छन्। जर्मनीका पूर्वकप्तान स्टेफान एफेनबर्गले क्लोपले टोलीमा नयाँ आशा र सकारात्मक ऊर्जा ल्याउने विश्वास व्यक्त गरेका छन्। बोरुसिया डर्टमन्डका प्रमुख कार्यकारी कास्र्टेन क्रामर त उनको प्रभाव फुटबलभन्दा धेरै टाढासम्म पुग्न सक्ने बताउँछन्। तर, क्लोपको नियुक्तिलाई सबैले स्वागत गरेका छैनन्। सन् २०२४ मा रेड बुल समूहको ग्लोबल फुटबल प्रमुख बनेपछि जर्मनीमा उनको लोकप्रियतामा केही गिरावट आएको थियो। लामो समयदेखि रेड बुलको बहु क्लब मोडल र ५० प्लस १ नियमको प्रभावले कमजोर बनाउने भन्दै जर्मन समर्थकहरूले विरोध गर्दै आएका छन्।

जुलाईमा क्लोपले जर्मनीको प्रशिक्षक बनेपछि पनि रेड बुलका ब्रान्ड एम्बासडरका रूपमा काम गर्न सक्ने समाचार सार्वजनिक भएपछि आलोचना झनै चर्कियो। जर्मन फुटबलका पूर्वअध्यक्ष थियो स्वान्जिगरले यस्तो व्यवस्था पूर्ण रूपमा अस्वीकार्य भएको टिप्पणी गरेका थिए। समर्थक समूह उन्सेरे कुर्भेले पनि जर्मनीको फुटबल संघ पुँजीको दबाबमा झुक्न नहुने प्रतिक्रिया दिएको थियो। केहीले भने फुटबल संघले अन्य विकल्पबारे पर्याप्त छलफल नगरी हतारमा निर्णय गरेको टिप्पणी गरेका छन्। क्लोप उत्कृष्ट विकल्प भए पनि जर्मन फुटबलको समस्या प्रशिक्षक परिवर्तनले मात्र समाधान नहुने सन् २०१४ का विश्वकप विजेता बास्टियन स्वाइनस्टाइगरको दाबी छ। ‘उहाँ पहिलो रोजाइ हुनु स्वाभाविक हो। तर के डिएफबीसँग अर्को विकल्प पनि थियो ? अहिलेको संकट धेरै गहिरो छ। क्लोप अस्थायी उपचार मात्र हुन सक्छन्,’ उनले भने ?

वास्तवमा जर्मनी पछिल्ला तीनवटा विश्वकपमा लगातार अन्तिम १६ सम्म पनि पुग्न असफल भएको छ। ठूलो इतिहास बोकेको देशका लागि यो अभूतपूर्व गिरावट हो। क्लोप आपैmँ पनि समस्या राष्ट्रिय टोलीको बेन्चमा सीमित नरहेको स्विकार्छन्। ‘मैले धेरै पटक भनेको छु, कुरा मुख्य प्रशिक्षकको मात्र होइन। आधारभूत तहदेखि धेरै कुरा परिवर्तन गर्न आवश्यक छ,’ उनले हालै भनेका थिए। त्यसैले क्लोपको वास्तविक परीक्षा नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल मात्र होइन दुई वर्षपछि इङ्ल्यान्ड र आयरल्यान्डमा हुने युरो २०२८ मा हुनेछ। भाग्यको संयोगले त्यो प्रतियोगिताले उनलाई भावनात्मक रूपमा फेरि लिभरपुल फर्काउने सम्भावना पनि बोकेको छ।

एनफिल्ड युरोकपको रंगशाला नभए पनि जर्मनीले एभर्टनको नयाँ हिल डिकिन्सन स्टेडियममा खेल्न सक्छ। त्यस बेलासम्म फुटबल संसारले एउटा प्रश्नको जबाफ पाइसकेको हुनेछ। त्यो हो लिभरपुलका उद्धारकर्ताले जर्मनीलाई पनि फेरि विजयी राष्ट्र बनाउन सक्छन् या सक्दैनन्। तर क्लोपले आफ्नो पहिलो पत्रकार सम्मेलनमै अर्को स्पष्ट सन्देश पनि दिए। ‘तपाईंहरूले मेरो परिवारको गोपनीयता सम्मान गर्नुभएन भने म यो पद छोड्नेछु र तुरुन्तै बाहिरिनेछु,’ मिडियालाई चेतावनी दिँदै उनले भने,‘यो जिम्मेवारी जर्मनीका लागि हो। जुलियन नागेल्समेन र थोमस टुचेललाई कस्तो व्यवहार भयो भन्ने देखेको छु। यो काम मन पर्छ, तर आवश्यक परे छोड्न सधैं तयार छु।’ जर्मनीको प्रशिक्षक बन्नु क्लोपका लागि जागिर होइन। उनको प्रशिक्षक जीवनको अन्तिम र सबैभन्दा ठूलो अध्याय हो। 

 

प्रकाशित: ९ श्रावण २०८३ ०७:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App