शुक्रबार दिनभर परेको अविरल वर्षाले कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित गगने खोलामा ठूलो पहिरो झरेपछि कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडकखण्ड बेलुका ७:४५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
सडक बन्द भएसँगै जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा र कर्णाली करिडोर हुँदै यात्रा गर्ने सयौँ यात्रु तथा मालवाहक सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालय जुम्लाका अनुसार निरन्तर वर्षा र माथिबाट खसिरहेकै ढुङ्गा-माटोका कारण रातभर पहिरो हटाउन सम्भव भएन। मौसम अनुकूल भए शनिबार बिहानैदेखि डोजर र प्राविधिक टोली परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ।
गगने खोला कर्णाली राजमार्गको सबैभन्दा संवेदनशील पहिरोग्रस्त बिन्दुका रूपमा चिनिन्छ। यही स्थानमा यस वर्ष असारयता मात्रै सात पटक सडक अवरुद्ध भइसकेको छ। हरेक वर्ष यात्रु अलपत्र पर्छन्, बिरामी अस्पताल पुग्न सक्दैनन्, खाद्यान्न ढुवानी रोकिन्छ र कर्णालीको जनजीवन ठप्प बन्छ। तर दीर्घकालीन समाधान भने अझै देखिएको छैन।
दुई वर्षअघि यही पहिरो नियन्त्रण गर्न सडक डिभिजन कार्यालय जुम्लाले करिब तीन करोड रुपैयाँ खर्चेर ग्याबिन वाल निर्माण गराएको थियो। तर गत वर्षको वर्षायाममै ती संरचना बगाएपछि करोडौँको लगानी प्रभावहीन बनेको छ। सडक बन्द भएपछि सुर्खेतबाट जुम्लातर्फ आएका सवारीसाधन खिड्कीज्युला क्षेत्रमा रोकिएका छन्। जुम्ला, मुगु, कालिकोट, हुम्ला, रास्कोट र बाजुराबाट बाहिरिने तथा भित्रिने सवारीसाधन पनि सडकमै थन्किएका छन्।
जुम्लाको हिमा गाउँपालिका-३ का गणेश शाही बिहान ६ बजे सुर्खेतबाट यात्रा सुरु गरे पनि दैलेखको मालाचौरमै बास बस्न बाध्य भए। ‘दिउँसोदेखि यतै रोकिएका छौँ। खान-बस्नसमेत समस्या छ। मेसिन त छ, तर माथिबाट ढुङ्गा झरिरहेकाले काम गर्नै सकिएको छैन,’ उनले बताए।
मौसम प्रतिकूल रहेकाले सडक डिभिजन कार्यालयले वर्षायाममा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
प्रकाशित: ९ श्रावण २०८३ ०६:५४ शनिबार



-600x400.jpg)

