नेपाल र्याफ्ट एन्ड कायक क्लब र विजय माझी नवौं राष्ट्रिय र्याफ्टिङ तथा १४औं राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिपमा पहिलो भएका छन्।
फिस्लिङस्थित त्रिशूली नदीमा आइतबारदेखि सुरु च्याम्पियनसिपमा नेपाल र्याफ्ट क्लब र्याफ्ट स्प्रिन्टमा र विजय कायक स्लालोममा पहिलो भएका हुन्। कायाक स्लालोम रन वानमा १२४.५१ स्कोर बटुल्दै विजय पहिलो भए।
नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा भएको प्रतियोगिताको यस विधामा इयान (१२६.३८ स्कोर) दोस्रो र आशिष रानामगर (१२६.९२) तेस्रो स्थानमा रहे। रञ्जन कँडेल (१३२.८५) चौथो र रविन्द्र चेपाङ (१३७.६४) पाँचौं स्थानमा छन्। र्याफ्टिङ विधातर्फको र्याफ्ट स्प्रिन्टमा नेपाल र्याफ्ट एण्ड कायक क्लब (फिस्लिङ ए) पहिलो भएको हो। तीन सय मिटरको दूरी फिस्लिङ ‘ए’ ले ८०.४२ सेकेन्डमा पार गर्यो।
यस विधामा नेपाल कायक क्लब ८२.३६ सेकेन्डका साथ दोस्रो भयो। भोटेकोशी एडभेन्चर क्लब ‘सी’ ८२.७६ सेकेन्डका साथ तेस्रो स्थानमा रहे। प्याडल नेपाल ‘बी’ र र्याफ्टिङ एडभेन्चर नेपालले क्रमशः चौथो र पाँचौं स्थानमा रह्यो। र्याफ्ट स्प्रिन्ट विधाको एउटा बोटमा चार जना खेलाडी हुन्छन्। यसलाई ‘आर कोर’ को नामले पनि चिनिन्छ। र्याफ्टिङ एण्ड क्यानोइङ संघका महासचिव तथा हेड जज सुदीप गौतमले यस प्रतियोगितामा पाँच विधामा प्रतिस्पर्धा हुने जानकारी दिए। पाँच विधामध्ये र्याफ्ट स्प्रिन्ट र कायक स्लालोमको प्रतिस्पर्धा भइसकेको छ। पहिलो दिनको प्रतिस्पर्धामा ५१ जना खेलाडीहरूले प्रदर्शन गरेका थिए।
अब र्याफ्ट हेड टु हेड, र्याफ्ट स्लालोम र र्याफ्ट डाउन रिभर रेस (१२ किलोमिटर) को विधा प्रतिस्पर्धा हुनेछ। पाँच विधामा कुल एक हजार स्कोरमा प्रतिस्पर्धा हुनेछ। सबैभन्दा धेरै अंक ल्याउने टोली च्याम्पियन हुने प्रावधान रहेको छ। त्यसअघि नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए।
यो प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा भइरहेको छ। यस प्रतियोगिताबाट आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको खेलाडी छनोट गरिने संघले जनाएको छ।
स्लालोम विधामा उत्कृष्ट पाँचभित्र पर्ने खेलाडीलाई एसियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण र छनोट प्रक्रियामा समावेश गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए। प्रतियोगिता आगामी मंगलबारसम्म चल्नेछ। दुवै विधातर्फ उत्कृष्ट टोली र खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।
क्यानोइङतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्। र्याफ्टिङतर्फ पहिलो हुनेले ६५ हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
प्रकाशित: १९ माघ २०८२ ०६:४९ सोमबार





