नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ को पहिलो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहले भनेका थिए, ‘हामीले आज खेल मात्र हारेका हौं, हामीले उपाधि जितिसकेका छौं।’
काठमाडौं गोर्खाजसँगको खेलमा भएको हारपछि पत्रकारसँग बोल्दै उनले एक खेल मात्र हारेको हो, अन्य खेलमा कमब्याक गर्नेछौं भनेका थिए। तर साविक विजेता जनकपुर लगातार तेस्रो खेलमा पराजित भएर काठमाडौंमा जारी एनपिएल सिजन–२ खेलिरहेको छ। साविक विजेता नै लगातार तीन खेलमा पराजित भइरहँदा जारी एनपिएल रोचक मोडमा पुगेको छ।
पहिलो खेलमा काठमाडौं, दोस्रो विराटनगर किंग्स र तेस्रो बिहिबार (हिजो) पोखरा एभेन्जर्ससँगको खेलमा समेत पराजित हुँदा अब जनकपुरको प्लेअफमा पुग्ने यात्रा कठिन बनेको छ। पोखरासँग २५ रनले हारेपछि कप्तान अनिल साह ब्याटिङ नचल्दा पराजित भएको बताए।
‘हाम्रो ब्याटिङ चलिरहेको छैन, हामी त्यसमै वर्कआउट गरिरहेका छौं,’ उनले भने, ‘वर्कआउट गरे पनि त्यो भइरहेको छैन।’
बिहीबारको दोस्रो खेलमा पोखराले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो। उसले ६ विकेट गुमाएर जनकपुरलाई १५६ रनको लक्ष्य दिएको थियो।
पोखराका कप्तान कुशल भुर्तेल शून्य तथा जिम्मी निशाम १ रनमा आउट हुँदा सुमित वर्मा र तृत राज दासले पोखराको इनिङ्स सम्हालेका थिए।
जनकपुरको लागि भने सञ्जय कृष्णमूर्तिले ३ विकेट लिए। ‘हामी खेलअघि सकारात्मक थियौं, टोलीको माहोल ठिकै छ, पहिलो इनिङ्स राम्रै भइरहेको थियो तर दोस्रो इनिङ्समा सोचे जस्तो प्रदर्शन गर्न नसकेपछि हामी चुकेका हौं’ कप्तान अनिलले भने।
पोखराविरुद्ध एक्लै लडेका वेन पार्नेल
जनकपुरको यो दुर्गति जारी सिजनको एनपिएलमा कसैले पनि सोचेका थिएनन्। पहिलो संस्करणको एनपिएलको उपाधि आफ्नो नाममा पाएको जनकपुर यसपटक लगातार चुकिरहेको छ।
उसको पराजय यात्रा निरन्तर नै छ। पोखराविरुद्धको खेलमा जनकपुरका वेन पार्नेल मात्रै त्रिवि मैदानमा पोखराविरुद्ध लडिरहे। ब्याटिङको सुरुआतदेखि नै लय गुमाएको जनकपुरले पहिलो विकेटमा टोलीका मार्की खेलाडी आसिफ शेखलाई शून्य रनमा गुमाएको थियो।
त्यसपछि अर्का ओपनर शुभ कंसाकार ४ रन मात्र जोडेर पेभिलियन फर्किए। यो बेला जनकपुरको अवस्था निकै नाजुक थियो। त्यसपछि जोन निकोल लोफ्टी इटन २ रनमा आउट हुँदा जनकपुरले जम्मा स्कोरबोर्डमा २५ रन जोडेको थियो।
टोलीका कप्तान अनिलमाथि सबैको आशा थियो, उनले इनिङ्स सम्हाल्छन् भन्ने फ्यानहरूले आशा गरेका थिए। तर त्यसको ठिक उल्टो भयो, उनी जम्मा १ रन बनाएर आउट भए।
‘हामी सकारात्मक बस्नुपर्छ अझै ४ खेल बाँकी छ, गतवर्ष हामीले ५ वटा खेल जितेर टप २ मा थियौं’ कप्तान अनिले सुनाए, ‘अझै चार खेल बाँकी हुँदा कमब्याक हुने छौं।’ एक-एक विकेट गइरहँदा त्यतिबेला सबैलाई लागेको थियो जनकपुरले फराकिलो हार व्यहोर्छ भनेर।
तर सातौं नम्बरमा क्रिजमा आएका वेन पार्नेलले अर्धशतकीय पारी खेल्दै जनकपुरको लाज जोगाए। ३८ बलको सामना गरेका उनले ५० रन पूरा त गरे तर उनको त्यो विर्सन नसकिने प्रदर्शन जितको लागि पर्याप्त भएन।
उनको तारिफ गर्दै अनिलले भने, ‘पार्नेलले आज महत्वपूर्ण भूमिका खेल्नु भयो, उहाँको बलिङ र ब्याटिङ दुवै राम्रो छ। उहाँले आफ्नो सुरुको खेलमै राम्रो प्रदर्शन गर्नुभयो।’
उनी क्रिजमा आउनुअघि जनकपुरको ब्याटिङ संघर्षमा थियो। ५० रन बढी खेल्ने सोचका रहेका उनी चोटको कारण रिटायर्ड आउट भएका थिए।
तेस्रो खेलमा पराजय पनि भएसँगै जनकपुर बोल्ट्स तालिकाको पुछारमा रहेको छ। गत वर्ष त्रिवि मैदानमा धुम मच्चाएको जनकपुर यो पटक एक खेलमा पनि जित निकाल्न संघर्षमा छ।
बिहिबारको हारसँगै जनकपुरको प्लेअफ यात्रा कठिन बनेको छ।
एनपिएलमा आज (शुक्रबार) दुई खेल हुँदैछन्। जसअनुसार पहिलो खेल पौने १२ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबिच तथा दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबिच हुँदैछ।
प्रकाशित: १२ मंसिर २०८२ ०६:५२ शुक्रबार





