भीम सार्कीको शतकमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जय ट्रफी क्रिकेटमा नेपाल पुलिसविरुद्ध झिनो अन्तरको अग्रता लिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले लामो फरम्याटको क्रिकेट विकास गर्ने उद्देश्यले गत वर्षदेखि जय ट्रफीको अवधारणा ल्याएको हो। जय ट्रफीको लिग चरणमा दुईदिवसीय क्रिकेट हुनेछ। लिग चरणको समाप्तिपछि शीर्ष दुई टोलीले खेल्ने फाइनल खेल हुने समीकरण छ। यो भने तीनदिवसीय फरम्याटमा हुनेछ। शुक्रबारदेखि दोस्रो संस्करण सुरु भएको छ। जहाँ विभागीय डर्बीमा आर्मीले पहिलो दिनको खेल सकिँदा पुलिसमाथि दबाब बढाएको छ।
पहिलो दिन नै दोस्रो इनिङ सुरु गरेको पुलिस २४ रनले पछि छ। पहिलो इनिङमा पुलिसले एक सय ८७ रन बनायो। दोस्रो इनिङमा आर्मीले दुई सय ३४ रन जोडेपछि इनिङ समाप्तिको घोषणा गर्यो। यससँगै आर्मीले पुलिसलाई दोस्रो इनिङ ब्याटिङको निम्तो दिएको हो।
दोस्रो इनिङमा पुलिस २३/१ को अवस्थामा हुँदा पहिलो दिन समाप्त भयो। टस हारेपछि पुलिसले पहिले ब्याटिङ गरेको हो। ५३.३ ओभरमा पुलिसले १५३/८ को अवस्थामा इनिङ समाप्ति घोषणा गर्यो। पुलिसका रासिद खानले ३८ रन बनाए। यो नै सर्वाधिक व्यक्तिगत स्कोर हो।
भारतमा भएको विश्वकपबाट फर्किएलगत्तै नेपाली खेलाडी जय ट्रफीमा होमिएका हुन्। पुलिसको कप्तानी आरिफ शेखले गरेका थिए। कप्तान आरिफ ३६ रनमा नटआउट रहे। उनले ६ चौका प्रहार गरे। ओपनर कुशल भुर्तेलले ३० रनमा नै पभेलियन फर्किए। उनले चार चौका र एक छक्का प्रहार गरे। विश्वकपका सदस्यद्वय आरिफ र कुशल दुवैले राम्रो खेल्न सकेनन्। पुलिस पहिलो इनिङमा दबाबमा पर्यो।
पुलिसका दिलसाद अलीले २७ रन बनाए। आर्मीको बलिङमा पवन कार्कीले चार विकेट लिए। आकाश चन्द, शाहब आलम, नरेन साउद र बसिर अहमदले समान एक विकेट निकाले। आर्मीले पहिलो इनिङमा ९ विकेट गुमाएर २३४ रन बनायो। यससँगै आर्मीले ४७ रनको अग्रताका साथ इनिङ घोषणा गरेको हो।
आर्मीका भीम सार्की एक सय ५ रनमा नटआउट रहे। ११३ बल खेलेका उनले १४ चौका र एक छक्का प्रहार गरे। पवन कार्कीले ३७ तथा नरेन साउदले ३१ रन बनाए। पुलिसको बलिङमा सागर ढकालले ६ विकेट लिँदै आर्मीको इनिङमा दबाब सिर्जना गरे। ललित राजवंशीले दुई र कुशलले एक विकेट लिए। दोस्रो इनिङ सुरु गरेको पुलिस २३/१ को अवस्थामा छ।
कुशल भुर्तेल १२ र शंकर राना ७ रनमा खेलिरहेका छन्। दोस्रो इनिङमा पनि अमित श्रेष्ठ ४ रनमा नै आउट भए। यस जय ट्रफी आइसिसी टी ट्वान्टी विश्वकपमा उत्कृष्ट खेलेका दीपेन्द्रसिंह ऐरीले खेलेका छैनन्। उनले विश्वकपमा दुई अर्धशतक प्रहार गरेका थिए तर क्रिकेट समर्थकले उनलाई जय ट्रफीमा देख्न पाउने छैनन्। उनले गत वर्ष मात्र नेपाल पुलिस क्लब छाडेका हुन्।
गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका शीर्ष चार (नेपाल पुलिस, त्रिभुवन आर्मी, एपिएफ क्लब र बागमती प्रदेश) टिमले सहभागिता जनाउँदै छन्। पहिलो संस्करणमा पुलिस च्याम्पियन भएको थियो। फाइनलमा पुलिसले आर्मीको टोलीलाई फाइनलमा २८ रनले पराजित गरेको थियो। पहिलो संस्करण वीरगन्ज र जनकपुरमा आयोजना भएको थियो।
प्रकाशित: ९ फाल्गुन २०८२ ११:३३ शनिबार





