१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

यात्रा प्रतिबन्धविरुद्ध इरानले फिफामा उजुरी दिने

फाइल तस्बिर : एपी

इरानले विश्वकप फुटबलमा आफूमाथि लगाइएको यात्रा प्रतिबन्धका विरुद्ध फिफामा आधिकारिक उजुरी दिने निर्णय गरेको छ।

सह-आयोजक अमेरिकामा खेल हुनुभन्दा एक दिन अगाडि मात्र प्रवेश पाउने र खेल सकिएको दिनै देश छोड्नुपर्ने भिसा सर्तले टोलीको तयारीमा असर परेको भन्दै इरान फुटबल महासंघले असन्तुष्टि जनाएको छ।

लस एन्जलसमा न्युजिल्याण्डसँग २-२ बराबरीको खेलपछि टोलीका मुख्य प्रशिक्षक अमिर घलेनोईले भनेका थिए, ‘हामी प्रतियोगिताको सबैभन्दा उत्पीडित टोली हौँ।’

इरान फुटबल महासंघले एक विज्ञप्ति जारी गर्दै यात्रा प्रतिबन्धले सहभागी टोलीलाई समान अवसर दिने सिद्धान्त उल्लंघन गरेको बताएको छ। महासंघले भनेको छ, ‘यी प्रतिबन्धले टोलीको तयारी प्रक्रियालाई नकारात्मक रूपमा असर गर्न सक्छन्। फलस्वरूप, महासंघले औपचारिक रूपमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै फिफामा आधिकारिक गुनासो दर्ता गर्नेछ।’

यसअघि प्रतियोगिताको पूर्वसन्ध्यामा टिकट बाँडफाँड रद्द गरिएको र ब्याकरूम स्टाफका धेरै महत्त्वपूर्ण सदस्यलाई अमेरिकाले भिसा नदिएको भन्दै महासंघले फिफालाई तटस्थता र निष्पक्षता कायम राख्न आग्रह गरेको थियो।

उता, अमेरिकी गृह सुरक्षा विभागका प्रवक्ताले इरानले सुरुमै यी सर्तमा सहमति जनाएको भन्दै आफ्नो बचाउ गरेका छन्। प्रवक्ताले भने, ‘टोलीलाई खेलको एक दिनअघि आउन र खेल सकिएकै दिन देश छोड्न अनुमति दिइनेछ। यो नियम लस एन्जलस र सिएटलमा हुने खेलका साथै टोली अर्को चरणमा पुगेमा पनि लागू हुनेछ।’ 

इरानले सोमबार लस एन्जलसमा बेल्जियम र आगामी शनिबार सिएटलमा इजिप्टको सामना गर्नेछ।

इरानले प्राविधिक र शारीरिक तयारीका लागि खेल हुनुभन्दा दुई दिन अगाडि नै आयोजक सहर पुग्न र खेलको भोलिपल्ट मात्र फर्कन पाउनुपर्ने माग राखेको थियो। तर, उक्त अनुरोध पटक-पटक अस्वीकार भएको महासंघले जनाएको छ। मध्यपूर्वमा जारी युद्ध र सुरक्षा चिन्ताका कारण इरानको विश्वकप यात्रा सुरुदेखि नै अनिश्चितताको घेरामा छ। एजेन्सी

प्रकाशित: ६ असार २०८३ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App