नेपालले पहिलोपल्ट घरेलु मैदानमा दुईवटा फरम्याटको अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्ने भएको छ।
नेपाल रग्बी संघको आयोजनामा आगामी भदौ २९ देखि ३१ गतेसम्म नेपालमा बंगलादेशसँग दोस्रो अन्तर्राष्ट्रिय रग्बी सिरिज हुने भएको हो। यसै सिरिजको पहिलो संस्करण भने बंगलादेशमा सन् २०२२ मा आयोजना भएको थियो। नेपालमा उमेर समूहमा एसियाली स्तरका नै प्रतियोगिताहरू भए पनि सिनियरमा भने पहिलोपल्ट आयोजना हुँदै छ। यस सिरिज सेभेन्स र फिफ्टिन्स दुई फरम्याटमा नै आयोजना हुने भएको छ। नेपाल रग्बी संघले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पहिलोपल्ट हुन लागेको सिरिजको बारेमा जानकारी दिएको हो।
संघका अध्यक्ष दीपक देवकोटाले यस सिरिजका लागि नेपाली टोलीलाई तयारी गरिएको उल्लेख गर्दै फिफ्टिन्स र सेभेन्समा फरकफरक टोली हुने बताएका छन्। सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र कोषाध्यक्ष दीपक अधिकारीले यो सिरिजलाई ऐतिहासिक रूपमा सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको बताए। यस सिरिजको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ। संघका अध्यक्ष देवकोटाले यसअघि एक महिनाको अवधिमा श्रीलंकाली प्रशिक्षकले नेपाली टोलीलाई प्रशिक्षण दिइएको पनि उल्लेख गरे।
तर, अहिले भने विनोद तामाङको प्रशिक्षणमा नेपाली टोलीले चर्च ब्वाइज क्लबको मैदानमा तयारी गरिरहेको छ। नेपाली टोलीमा दुई फरम्याटका लागि गरेर कुल २३ जना खेलाडी छन्। सिरिजको पहिलो दिन भदौ ३० गते सेभेन्सका दुईवटा खेल सञ्चालन हुनेछन्। फिफ्टिन्सको सिरिज भने दोस्रो दिन हुने भएको छ।
भदौ ३१ गते फिफ्टिन्सअन्र्तगत एउटा मात्र खेल सञ्चालन हुने कार्यक्रम रहेको संघले जनाएको छ। खेल विश्व रग्बीको नियमानुसार खेलाइने संघले जनाएको छ। संघका अध्यक्ष देवकोटाले यस अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि एसिया रग्बीले मान्यता दिएको जानकारी दिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जारी गरेको नियमअनुसार हरेक खेलाडीको प्रतियोगिता अवधिभर बिमा पनि गरिने संघले जानकारी दिएको छ। सिरिजको विजेताले ट्रफी प्राप्त गर्नेछ। बंगलादेशका टोली आगामी सेप्टेम्बर १३ मा नेपाल आउनेछन्। सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८२ ०७:२५ सोमबार





