फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायसँग रहेको करिब ४.४ अर्ब पाउन्डको नगद सञ्चितिबाट सदस्य राष्ट्रलाई थप रकम उपलब्ध गराउन सकिने संकेत गरेका छन्।
सञ्चारमाध्यमले प्राप्त गरेको एक पत्रमा इन्फान्टिनोले फिफाका ६ वटा महादेशीय महासंघलाई जिम्मेवारीपूर्वक वितरण गर्न सकिने ‘अधिकतम अतिरिक्त रकम’ उपलब्ध गराउने पक्षमा आफू रहेको बताएका छन्।
फिफाको ‘फिफा फर्वार्ड इन्टरप्राइज’ (एफएफई) योजना असफल भएपछि इन्फान्टिनोमाथि दबाब बढिरहेका बेला उनको यस्तो धारणा आएको हो। उक्त योजनाअन्तर्गत विश्वकपसहित फिफाका विभिन्न प्रतियोगिताको व्यावसायिक अधिकारमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने प्रस्ताव गरिएको थियो। प्रस्ताव सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको थियो।
युरोपेली फुटबल महासंघ (यूईएफए) र उत्तर अमेरिका, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको महासंघ (कनकाकाफ) ले फिफाका २११ सदस्यलाई सञ्चित रकमबाट प्रतिराष्ट्र १ करोड अमेरिकी डलर उपलब्ध गराउन माग गरेका छन्।
यो प्रस्तावमाथि आगामी अक्टोबर १५ मा बस्ने फिफा परिषद्को बैठकमा छलफल हुने बताइएको छ। इन्फान्टिनोले भने आफूले रकमको निश्चित सीमा तोकेर निर्णय नगर्ने बताएका छन्।
‘एउटा निश्चित रकमले छलफल सुरु गर्न सक्छ, तर विश्वव्यापी नीतिलाई त्यसले पूर्णता दिन सक्दैन,’ उनले पत्रमा उल्लेख गरेका छन्।
इन्फान्टिनोले फिफा फर्वार्ड इन्टरप्राइजको फिर्ता लिइएको प्रस्तावको पनि बचाउ गरेका छन्। विश्वकपको व्यावसायिक अधिकारमा हिस्सेदारी बिक्री गर्ने योजनाको विरोधमा उनको राजीनामासमेत माग गरिएको थियो। उनले भने उक्त योजना फुटबलमा थप लगानीका लागि अतिरिक्त रकम जुटाउने उद्देश्यले ल्याइएको दाबी दोहोर्याएका छन्।
यसै महिनाको सुरुवातमा फुटबल एसोसिएसनकी अध्यक्ष तथा फिफा उपाध्यक्ष डेबी हेविटले इन्फान्टिनोलाई एफएफई योजनासँग सम्बन्धित सबै दस्तावेज सार्वजनिक गर्न आग्रह गरेकी थिइन्। उनले योजनाबारे स्वतन्त्र समीक्षा गर्नुपर्ने मागसमेत गरेकी थिइन्।
इन्फान्टिनो सन् २०२७ मार्चमा फिफा अध्यक्षका रूपमा चौथोपटक निर्वाचन लड्ने तयारीमा छन्। उनका सम्भावित प्रतिस्पर्धीले वैकल्पिक उम्मेदवार अघि सार्न आगामी नोभेम्बर १८ सम्मको समय पाउनेछन्।
प्रकाशित: १३ आश्विन २०८३ ११:१९ मंगलबार



-600x400.jpg)

